वीरगञ्ज । नेपाली कांग्रेसका प्रदेशसभा सदस्य श्याम प्रसाद पटेलले मधेश प्रदेश सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकताको प्रस्तावमा गाँजा खेतीको विषय समावेश नगर्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।
आइतबार बसेको मधेशको प्रदेशसभा बैठकको छलफलमा प्रदेश सांसद् पटेलले सङ्घ सकरारले गाँजा खेतीलाई प्राथमिकताका रुपमा राखेपनि देशकै सबैभन्दा उर्बर भूमि भएको मधेश प्रदेश सरकारले गाँजा खेतीलाई प्राथमिकता नराख्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले मधेश प्रदेश सरकारका अर्थमन्त्रीले ल्याएको बजेट सिद्धान्त र प्राथमिकताको प्रस्तावमा यसलाई समावेश गर्न माग पनि गरे ।
‘केन्द्र सरकारले बजेटमै नगदेवलीका रुपमा प्राथमिकताका साथ गाँजा खेतिलाई राखेको छ, तर दुर्भाग्यपूर्ण कुरा के छ की कृषि प्रदान देशमा सबैभन्दा उर्बर भूमि रहेको मधेश प्रदेश सरकारले गाँजा खेतीलाई प्राथमिकतामा राखेको छैन । म मधेश प्रदेश सरकारसँग यस वर्षको नीति तथा कार्यक्रममा नगदवालीका रुपमा गाँजा खेतीलाई समावेश गर्न आग्रह गर्दछु,’ पटेलले भने ।
अरु कुनै आय स्रोत नभएको समयमा गाँजा खेती मार्फत पर्साका कृषकले मनग्य आम्दानी गर्ने गरेको स्मरण गर्दै उनले भने, ‘हाम्रो जिल्लाका कृषकले प्राथमिकताका साथ गाँजा खेती गर्थे । किनभने उनीहरुलाई आफ्नो छोराछोरीलाई राम्रो शिक्षा दिनुथियो, विवाह गराउनु थियो र गाँजा खेती मार्फत राम्रो पैसा कमाउन सकिन्थ्यो ।’ जिल्लावासीले गाँजा खेतीबाट आएको आम्दानीबाट आफ्नो सम्पूर्ण खर्च समेत धान्ने गरेको उनले सुनाए ।
मधेशमा गाँजा खेती गरिए प्रदेशलाई आर्थिक रुपले समृद्ध बनाउन सकिने पटेलले बताए । ‘त्यसैले मेरो आग्रह छ । सरकारको प्राथमिकतामा गाँजा खेती पनि परोस,’ उनले भने । मधेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको सिद्धान्त र प्राथमिकताको प्रस्ताव समग्र रुपमा राम्रो भएको उनले बताए ।