वीरगन्ज । तराईमा जेठ मध्यदेखि आँप पाक्न सुरु भइसकेको छ । तर, ती आँप बजारमा नपुग्दै भारतीय आँपले नेपाली बजार ढाकिसकेका छन् । वैशाख मध्यदेखि नै पर्सासहित तराईका बजारमा पाकेका आँप धमाधाम बिक्री भइरहेका छन् ।
हेर्दा आकर्षक देखिए पनि भारतबाट आएका सबै आँप विषादी हालेर पकाइएका छन्। सबै आँपमा विषादी प्रयोग गरेको भेटिएपछि उपभोक्ता सचेत हुनुपर्ने विषादी मापन प्रयोगशालाका अधिकारी बताउँछन्। ‘पाक्ने समय अगावै विषादी हालेर पकाएका आँपले बजार ओगटेको छ, परीक्षण गर्दा विषादीको मात्रा प्रमाणित हुन्छ । तत्काल केही असर नदेखिए पनि विषादीरहित जस्तो स्वस्थकर हुँदैन’, भने जानकारहरु बताउँछन् ।
‘क्याल्सियम कार्बाइड’ भन्ने अखाद्य रासायनिक पदार्थ प्रयोग गरी पकाइएको छ। त्यसको मात्रा बढी भए मानव स्वास्थ्यमा गम्भीर असर पर्ने उनीहरु बताउँछन्। मधेश प्रदेशका बजारमा आएका र किसानले उत्पादन गरेका कृषिजन्य वस्तु परीक्षण गर्दै आएको विषादी मापन प्रयोगशालाले विषादी प्रमाणित गरे पनि त्यसलाई रोक्न कुनै निकायबाट पहल नभएको उपभोक्ताको गुनासो छ ।
‘विषादीको थोरै÷धेरै जति भए पनि मानव स्वास्थ्यका लागि हानिकार हो। जानकारी हुँदा पनि स्थानीय सरकार र भन्सारले विषादीयुक्त आँप रोक्न कुनै पहल थालेको पाइएन’,वीरगन्ज –१३ का अमित यादव भन्छन् । देशभित्रै प्रशस्त आँप फले पनि भन्सारले रोक नलगाउँदा विषादीयुक्त भारतीय आँप खान बाध्य भएको अर्का स्थानीय लक्ष्मण कुशवाहा बताए ।
कार्बोहाइडमा पाइने क्याल्सिनोजेन भन्ने तत्वले क्यान्सर गराउन सक्ने चिकित्सकको भनाइ छ । वीरगन्जका स्वास्थ्यकर्मी वरिष्ट फिजिसियन डा राकेश तिवारी अनुसार सिजन अघि विषादी हालेर पकाइएका आँपले क्यान्सर रोग निम्त्याउन सक्छ। नेपालमा उत्पादन भएका फलफूल, तरकारी, सुन्तला भारतीय बजारमा निर्यात गर्नुपरे क्वारेन्टाइन चेकजाँच भनेर गुणस्तरीय नभएको भन्दै रोक लगाउने गरेको छ। तर, अत्यधिक विषादी प्रयोग गरिएका आँपका लागि नेपालले भने सामान्य क्वारेन्टाइन चेकजाँचसम्म गरेको पाइँदैन।
खाद्य ऐन २०२३, नियमावली २०२७ ले क्याल्सियम कार्बाेहाइड प्रयोग गरी फलफूल पकाउन प्रतिबन्ध लगाएको छ। परीक्षणमा ३५ प्रतिशतसम्मको विषादीको मात्रा देखिए खानयोग्य मानिन्छ। त्यस्तै, ३५ देखि ४५ प्रतिशतसम्म विषादी पाइएमा केही दिन राखेर विषादीको प्रभाव घटेपछि खान मिल्छ। तर, ४५ प्रतिशतभन्दा माथि पाइएमा स्वास्थ्यका लागि हानिकारक मानिन्छ।
चिकित्सकका अनुसार आँप र केरा पकाउन प्रयोग गरिने क्याल्सियम कार्बोहाइडमा धातुजन्य आर्सेनिक, फस्फोरसको मात्रा अत्यधिक हुने र त्यसले पानीसंँग प्रतिक्रिया गरी एसिटिलिन ग्यास उत्पादन गरी मानिसको स्नायु प्रणालीको तन्तु प्रभावित बनाउँछ । पर्साको नाका वीरगन्ज , इनर्वा , श्रिशिया , अलौ , हुँदै दैनिक भारतबाट आँप लिएर नेपाल भित्रिने गरेको प्रत्यक्षदर्शीहरु बताउँछन् ।