काठमाडौं । नेपाल मेडिकल कलेज परिसरमा सुविधा सम्पन्न मार्ट सञ्चालनमा ल्याइएको छ । मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी, उपचारका लागि भर्ना भएका विद्यार्थीहरुलाई दैनिक उपभोग्य वस्तुहरु सहजै उपलब्ध गराउनका लागि मार्ट सञ्चालनमा ल्याइएको हो ।
बुधबार कलेजका प्रिन्सिपल प्रा.डा. प्रमोदकुमार क्षेत्री, प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारीले मार्टको उद्घाटन गर्दै विद्यार्थी तथा उपभोक्ताहरुलाई दैनिक उपभोग्य सामग्रीहरु सहज र सर्वसुलभ मुल्यमा प्रदान गर्न मार्टले सहयोग पुग्ने बताए ।
विहान ७ बजेदेखि राती ९ बजेसम्म खुल्ने मार्टमा खाद्यान्न, ग्रोसरीसँगै कस्मेटिक्स र किचन तथा वाथरुमका सामानहरु पाइन्छन् । ग्रिनमार्ट नामले सञ्चालित मार्टमा बजारको भन्दा सर्वसुलभ मुल्यमा दैनिक उपभोग्य सामग्रीहरु खरिद गर्न सकिने सञ्चालक सबरे आलमले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा कलेजका अस्पताल निर्देशक डा. राजेशकिशोर श्रेष्ठ, भाइसप्रिन्सिपल डा. सृष्टि श्रेष्ठ, मेट्रोन लगायत कलेजका डाक्टर, नर्स, कर्मचारी र विद्यार्थीहरु सहभागी रहेको कलेजका अस्पताल इन्चार्ज दिलिप साहले जानकारी दिए ।
पछिल्लो समय नेपाल मेडिकल कलेजले आफ्नो स्वास्थ्य सेवाहरुसँगै बिरामी त्यहाँ कार्यरत चिकित्सक, अध्ययनरत विद्यार्थीहरुका सुविधाका लागि सेवाहरु थप गर्दै लगिरहेको छ । विरगञ्जका सफल मेडिकल व्यवसायी बसरुद्धिन अन्सारी कलेजको व्यवस्थापनको नेतृत्वमा आएसँगै नयाँ स्वास्थ्य सेवा थप गर्ने, पूर्वाधार निर्माण गर्ने र प्रशासनिक सुधारका कामहरु भइरहेका छन् ।