वीरगञ्ज । बचतकर्ताको करोडौं रकम लिएर वीरगञ्जको आदर्शनगरस्थित सानोपाइला वचत तथा ऋण सहकारी संस्था फरार भएको आरोप लागेको छ ।
काठमाडौँको कालिमाटीमा प्रमुख कार्यालय भएको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाको वीरगञ्जस्थित शाखा बचतकर्ताको १ अर्ब भन्दापनिबढी रकम लिएर फरार भएको आरोप लागेको हो । वीरगञ्ज शाखाकी प्रमुख कार्यकारी अधिकृत तस्बिरन खातून सम्पर्कविहिन छन् ।
एक महिनादेखि सहकारीको कार्यालय पुग्दा पनि पैसा फिर्ता नपाएपछि बिहिबार बचतकर्ताहरुले धर्ना दिएका छन् । “खुद्रा व्यापारीले प्रति दिन जम्मा गरेकोरकम फिर्ता पाउँ”, “सञ्चालक समितिको सदस्यहरुको नाम फोन नम्बर र ठेगाना सार्वजनिक गरी पाउँ”, “घरमा विवाह संस्कारको लागी जम्मा गरेको बचत रकम फिर्ता पाउँ”, “स्वास्थ्य तथा उपचारको लागी बचत गरेको मुद्दती रकम फिर्ता पाउँ” लगायत नारा लेखिएका पेकार्डसहित पुगेका बचतकर्ताहरुले एक घण्टाजती सहकारीको कार्यालयमै पुगेर धर्ना दिएका थिए ।
बचतकर्ताकाअनुसार एक वर्षादेखि सहकारीका कर्मचारीले जम्मा भएको पैसा फिर्ता दिएका छैनन् । स्वास्थ्य उपचारको लागि थोरैथोरै गरेर जम्मा गरेको पैसा आवश्यकता परेको बेला फिर्ता नपाउँदा आफू विचल्लीमा बचतकर्ता अङ्कित अग्रवालले बताए । ‘आँखाको उपचारका लागि ठूलो रकम चाहिन्छ भनेर प्रत्येक महिना मिहिनेत गरेर कमाएको २०/२५ हजार जम्मा गर्दै आएको थिए । १० लाख जती एफडी पनि गरेको छु,’ अग्रवालले भने, ‘आज उपचार गराउने समय आउँदा सहकारीले पैसा दिरहेको छैन । अब मैले आफ्नो उपचार कसरी गराउने ?’
केहि महिना अगाडिसम्म सहकारीले दैनिक पाँच हजारको दरले पैसा दिएपनि पछिल्लो समय त्यो पनि नपाएको बचतकर्ताहरुको गुनासो छ । ‘हामीहरु पैसा माग्न पुगेपछि पाँच/पाँच हजारको दरले दिन्छौँ भनेर शाखा प्रमुखले भनेकी थिइन् । केहि त्यसैगरी पैसा पायो पनि,’ बचतकर्ता विक्रम सर्राफले भने, ‘अहिले त्यो पनि पाउँन छोडेको छ । अत्ती भएपछि हामी आज धर्ना दिन बाध्य भयौँ ।’
छोरीको विवाहको लागि जम्मा गरेको पैसा पनि सहकारीले फिर्ता नगरेको अर्का बचतकर्ता रामबाबु कलवारले बताए । ‘जग्गा बेचेर श्रीमतीको नाममा खाता खोली ६ लाख रुपैयाँ जम्मा गरेको छु, प्रत्येक दिन ५००/१००० को दरले पनि पैसा जम्मा गर्दै आएको थिए,’ कलवारले सुनाए, ‘अहिले छोरीको विवाहको बेला पैसा पाउँन सकिरहेको छैन । सञ्चालकहरुको अत्तोपत्तो छैन, वीरगञ्ज शाखाका प्रमुखहरु पनि फरार छन् ।’
सहकारीको वीरगञ्ज शाखाकी प्रमुख कार्यकारी अधिकृत तस्बिरन खातूनलाई सम्पर्क गर्न खोज्दा उनले फोन उठाइनन् । कार्यालयमा रहेका सबैभन्दा वरिष्ठ कर्मचारी सहायक ऋण अधिकृत रविन्द्र यादवले सञ्चालकहरु फरार नभएको बताए । बचतकर्ताहरुको पैसा ढिलाइ भएको स्वीकार्दै उनले भने, ‘बजारमा चलिरहेको आर्थिक मन्दीका कारण समस्या भएको हो । हामी सञ्चालकहरुसँग निरन्तर सम्पर्कमा छौँ, अर्को सातादेखि पैसा बचतकर्ताहरुले पैसा फिर्ता पाउँनु हुन्छ,’ यादवले भने । सहकारी मर्जरको प्रक्रियामा रहेको कारण पनि बचतकर्ताको पैसा फिर्ता गर्न ढिलाइ भएको यादवले बताए ।
सहकारीका बचतकर्ताले सञ्चालक समितिका सदस्यको नाम, ठेगना र सम्पर्क नम्बर माग गर्दा कर्मचारीले नदिएको आरोप लगाएका छन् । यात्रा डेली