काठमाडौँ — प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समाजवादी मोर्चा संघीय गणतन्त्रका पक्षधरहरूप्रति परिलक्षित नरहेको बताएका छन् । उनले हतारमा पार्टी एकता गरेर व्यवहारमा सफल गर्न नसकेको विगतलाई समीक्षा गर्दै एकता र स्वतन्त्रताको द्वन्द्वात्मक बाटोबाट समाजवादी मोर्चा जन्मिएको बताए ।
सोमबार राष्ट्रिय सभागृहमा आयोजित समाजवादी मोर्चा घोषणासभामा बोल्दै प्रधानमन्त्री दाहालले देशलाई फेरि निरंकुशतातिर फर्काउन चाहनेविरुद्ध मोर्चाले नयाँ ढंगबाट क्रान्ति गर्ने बताए । ‘यो मोर्चा कुनै परिवर्तनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग समुदायको अधिकारका पक्षधरहरूका विरुद्ध परिलक्षित छैन,’ प्रधानमन्त्री दाहालले अघि भने, ‘बरु यो समाजवादी मोर्चा सबैलाई समेटेर नयाँ शिराबाट देशको राष्ट्रिय एकता, स्वाधीनता र जनताको हक अधिकारलाई सुनिश्चित गर्ने, समाजवादको नयाँ युगतिर लैजाने गम्भीर जिम्मेवारीबोधसहित यो मोर्चा गठन भएको हो ।’
उनले विगतमा दलहरूबीच हतारमा एकता गरेर पार्टी घोषणा गर्दा समस्या भएको भन्दै अहिले त्यहीबाट सिकेर चारवटा दलहरूबीच एकता र स्वतन्त्रताको द्वन्द्वात्मक बाटोबाट मोर्चालाई अघि बढाउने निर्णयमा पुगेको बताए । उनले मोर्चा शान्ति प्रक्रियाका बाँकी काम पूरा हुन नदिने र बिथोल्न खोज्नेहरूका लागि चुनौतीका रुपमा रहेको समेत बताए ।
‘मैले हिजो नेकपा गठनका लागि प्रस्तावकको भूमिका खेलेको थिएँ । जनता र आम कार्यकर्ताको अपार मायाका बाबजुद हामीले त्यो पार्टीलाई बचाउन सकेनौँ, झन्डै दुई तिहाईमा पुगेका जनसमर्थनलाई हामीले बचाउन सकेनौँ, म अहिले कसैलाई आरोप लगाउन चाहन्नँ,’ उनले भने, ‘त्यो बेला हामीले पार्टी एकता नै गर्ने हतारो पो गरेछौँ कि ? भन्ने लागिरहेको छ । तर‚ यसपटक त्यस्तो हतारो छैन, हामीले सुझबुझपूर्णरुपमा लामो छलफलपछि मोर्चा बनाउने निर्णयमा पुगेका छौँ ।’
उनले अब चार दलले संयुक्त प्रयासबाट समाजवादी समाज निर्माणका लागि बृहत् शक्ति सञ्चय गर्ने प्रयास भइरहेको बताए । ‘समाजवादी समाजका लागि बृहत् शक्ति सञ्चय गर्ने प्रयास भएको छ । अब हामीलाई कसैले रोक्न सक्दैन । हामीले एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने प्रयास गरेका छौँ,’ उनले भने, ‘एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गरेका छौँ । एकातिर हरेक पार्टीको स्वतन्त्रताको रक्षा होस्, देश र जनताको अगाडि विद्यमान समस्या समाधानका लागि एकताको आवश्यकता जुन छ, त्यसकालागि पनि हाम्रो पहल होस् भन्ने हिसावले हामीले यो प्रयास गरेका छौँ ।’
उनले अब मोर्चाले सडक र सदन दुवै ठाउँबाट नयाँ अभियान अघि बढाउने बताए ।