वीरगञ्ज । सरकारले पर्सा निर्वाचन क्षेत्र नम्बर ३ का जनतासँग अन्याय गरेको सांसद् राजकुमार गुप्ताले आरोप लगाएका छन् ।
मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् गुप्ताले जिल्लाका अन्य तिन वटा निर्वाचन क्षेत्रको तुलनामा क्षेत्र नम्बर ३ मा कम बजेट पठाएर सरकारले अन्याय गरेको बताएका हुन् । गुप्ता सोही क्षेत्रबाट निर्वाचित सांसद् हुन् ।
विपक्षी दलको नेता निर्वाचित भएको क्षेत्र भएको निहुँमा बजेट कटौती गर्नु अन्यायपूर्ण भएको बताउँदै उनले भने, “सरकारले ल्याएको बजेटमा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ अटाएको छैन । जिल्लाका अन्य तिनवटा क्षेत्रको तुलनामा त्यहाँ कम बजेट दिएको छ । के त्यहाँ नेकपा एमाले मात्र छ, अरु जनता छैनन् ?’
गुप्ताले वीरगञ्जस्थित सिर्सिया नदीको प्रदूषणको विषयलाई सम्बोधन गर्नपनि सरकारसँग माग गरे । ‘सिर्सिया नदीको प्रदूषित पानी बोकेर काठमाडौँसम्मको पैदल गर्दै अहिले माइतीघर मण्डलामा केही युवाहरुले धर्ना दिरहेका छन्,’ उनले भने, ‘तर सरकारले त्यसमा कुनै चासो देखाएको छैन । नदी छेउमा घर बनाएर बसिरहेका आम जनताले भोगिरहेको समस्यालाई समाधान गरियो, त्यसतर्फ सरकारको ध्यान जाओस ।’
प्रत्येक शिर्षकमा बजेट कटौती गर्दै प्रधानमन्त्री र सरकारले मधेशसँग पनि धोका गरेको उनले उल्ल्लेख गरे । ‘प्रधानमन्त्रीजी मधेश जाँदा मधेशको पहिरनमा सजिनुहुन्छ, काँधमा गम्छा राख्नुहुन्छ, मधेशसँग लभ छ भन्नुहुन्छ, तर बजेट कटौती गर्नुहुन्छ,’ उनले भने, ‘मधेशसँग लभ गर्छु भन्ने तर विकास गोर्खा, नुवाकोट, सल्यान र डेडलधुरामा गर्न, यो कस्तो लभ हो, मैले बुझ्न सकेको छैन ।’ मधेशको कटौती हुँदापनि मधेश केन्द्रित दलले सत्ताको लोचमा त्यसको विरोध नगरेर उनले आरोप लगाए ।
गुप्ताले समग्र रुपमा बजेट सन्तुलित र जनताको अपेक्षाअनुसार नभएको बताए । उनले नागरिकताको विवादका कारण भइरहेको समस्यालाई संसद् मार्फत समाधान गर्न सुझाव पनि दिए ।