भैरहवा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले भैरहवामा रमानन्द बानियाँको घर कब्जामा लिएका छन् । शनिबार दिउँसो बानियाँको घर घेराउ गर्दै उनीहरुले कब्जामा लिएका हुन् ।
सिद्धार्थनगर नगरपालिका –५ मिलनचोकमा रहेको बानियाँको घरमा शनिबार दिउँसो पुगेका विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मिटरब्याज पीडितहरुको आग्रहमा आफूहरुले घर घेराउ गरेको बताएका थिए ।
विप्लव समूहका जिल्ला नेता वीरेन्द्र विकले मिटरव्याज पीडित ऋणीको उपस्थितिमा शनिबार भैरहवास्थित मिलनचोक र बुद्धचोकमा रहेको बानियाँको घर घेराउ गरेको बताउनुभयो ।
घर कब्जामा लिनेक्रममा नेकपाले सभाको समेत आयोजना गरेको थियो । सभामा नेकपाका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज सरद सी, जिल्ला सेक्रेटरी बिरेन्द्र सी, जिल्ला सचिवालय सदस्य शिशिर सीलगायतका नेताहरूले सम्बोधन गरेका थिए ।
बानियाँले मिटरब्याजमा पैसा दिएर ठगी गरेको भन्दै ६२ जनाले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् । उजुरी दिए पनि प्रशासनले बेवास्ता गरेपछि ऋणीहरुले विप्लव नेतृत्वको नेकपामा लिखित उजुरी दिएका थिए ।
बानियाँले रुपन्देहीका झण्डै डेढ सयभन्दा बढी किसानलाई न्युनतम ७५ हजारदेखि १० लाखसम्म ऋण दिएर कपाली तमसुक, दृष्टिबन्धक गराएर किसानका करोडौं रकम ब्याजका नाममा ठगेको उजुरी आएको नेकपाको दावी छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी श्यामु अर्यालले बानियाँबिरुद्ध मिटर ब्याज पीडितहरुको उजुरी परेको र अनुसन्धान भइरहेको बताउनुभयो ।