जनकपुरधाम। गत मंगलबार दिउँसो सवा २ बजे विद्यालयमा शिक्षक भूइँ तल्लामा आफ्ना मागहरु उल्लेखित ब्यानर झुण्डयाएर धर्ना बसेका थिए भने छेउमै केही विद्यार्थी उभिरहेका थिए । बेला–बेला धर्ना बसेका शिक्षकहरु जोडले नारा लगाउथे ‘यथाशीघ्र तलबभत्ता भुक्तानी गर, खाइपाइ आएको तलबभत्ता कट्टा गर्न पाइँदैन….।’ शिक्षकहरु नारा लगाइरहँदा कक्षामा बसेका विद्यार्थीहरु बाहिर निस्केर ताक्थे ।
‘पढाइ हुँदैन, घर जाउँ सर ? भन्दै विद्यार्थीहरु पटक पटक प्रधानाध्यापक प्रमोदशरण केउट सामु पुग्थे । ‘घण्टी खाली जाँदैन । क्लासमा बस । म आउँदै छु’ भनी विद्यार्थीलाई रोक्ने प्रयास गर्थे प्रधानाध्यापक केवट । विद्यार्थीहरु यताउता जाने आउने क्रम चलिरह्यो । त्यही छेउमै उभेका छात्राहरु मध्ये कक्षा १० मा अध्यनरत्त राधिका कुमारी महतोले गुनासो गरिन् ‘केहि दिनदेखि सँधै तीन÷४ घण्टी मात्रै पढाइ हुन्छ । हामी एसईईको विद्यार्थी कसरी पास गर्ने ?’ राधिकाको कुरामासंगै उभेकी कक्षा १० की छात्रा विभाकुमारी र कृतिकुमारीले समर्थन जनाइन् ।
‘सँधै आउँछौ । तीन चार घण्टी पढाइ हुन्छ । बाँकी हुँदैन । सरहरु धर्नामा बस्नु भएको छ । हामीलाई पढाउनु हुन्न । हामी एसइइ दिने विद्यार्थी । कसरी पास गर्ने’ उनीहरुले प्रश्न गरिन् । धनुषाको बटेश्वर गाउँपालिका ४ बटेश्वर बजार स्थित शिवशक्ति नमूना माध्यमिक विद्यालयमा शिक्षक आन्दोलनमा बसेपछि विद्यार्थी पठनपाठनबाट वञ्चित हुनुपर्ने समान्य भइसकेको छ ।
बटेश्वर गाउँपालिका कार्यालयको पूर्वपट्टी टाँसिएरै रहेको यो विद्यालय राजनीति र अनियमितताको आखाडा बनेको छ । पठनपाठन भद्रगोल हुँदै गएको छ ।
कहिले तलब नपाएको भन्दै शिक्षक, कहिले पठनपाठन नभएको भन्दै विद्यार्थी आन्दोन गर्छन् भने कहिले व्यवस्थापन समितिमा आफ्नो वा पार्टीको प्रतिनिधित्व भएन भन्दै राजनीतिक दलको हरहर खट्खट् भइरहनु यो विद्यालयको लागि नौलो होइन ।
यस विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थी बाहेक कक्षा १ देखि १० सम्म अहिले १४ सय विद्यार्थी अध्ययनरत्त छन् । कक्षा ११ र १२ का विद्यार्थी परीक्षा सकेर रिजल्टको पर्खामा छन् । शिक्षको आन्दोलन र विद्यालयमा भएको अनियमिता सम्बन्धि बिबादले विद्यालयको पठन पाठन गत एकवर्षदेखि प्रभावित हुने गरेको छ । जसले यहाँ अध्ययनरत्त १४ सय विद्यार्थीको भविष्य नै धरापमा परेको छ । तर, यो समस्या समाधानका लागि पालिकाका जनप्रतिनिधीको चाँसो देखिँदैन । केवल जनप्रतिनिधि र प्रअ एक अर्कामाथि आरोप प्रत्यारोप गर्छन् ।
विद्यालय आर्थिक वर्ष २०७५।०७६ मा नमूना घोषणा भएको थियो । त्यस यता २०७७।०७८ सम्म वर्षेनी सशर्त नमूना अनुदान स्वरुप एक करोड ५० लाख बजेट आउने गरेको थियो । ०७८।०७९ देखि एक एक करोड आउन थालेको छ । प्रअ केवटका अनुसार विद्यालयमा नमूना अनुदान वापत आउने बजेटबाट ६५ प्रतिशत भवन, २५ प्रतिशत विद्यलय व्यवस्थापन र १० प्रतिशत शैक्षिक व्यवस्थापनमा खर्च गर्ने गरिएको छ ।
विद्यालयको आफ्नै पनि आम्दानीको श्रोतहरु छन् विद्यार्थीबाट लिइने विभिन्न शुल्क, विद्यालयका समित्वमा रहेको बटेश्वर बजार र जग्गा जमिनको ठेक्का पट्टाबाट आउने रकम । तर अनुदान र निजी श्रोतमा अध्यापन गराइरहेका शिक्षक शिक्षिकाहरुको तलब भत्ता बापत ५० लाख रुपैयाँ भुक्तानी बाँकी छ । १६ जना शिक्षक दोश्रो पटक तलबभत्ता माग गर्दै असार १ गतेदेखि धर्ना बसेका छन् ।
बाँकी बक्यौता तलबभत्ता पटक पटक माग गर्दा पनि नपाएपछि पुनः बाध्य भएर धर्ना बस्नु परेको निजी श्रोतका शिक्षक लोकहरि खतिवडा बताउँछन् । ‘१३ महिनादखि तलब पाएको छैन । ऋण काढेर, श्रीमतीको गहना बेची बेची परिवार चलाउनु परेको छ । भोको पेटक कति दिन पढाउने ? हाम्रो पीडा कसले बुझिदिने’ शिक्षक खतिवडा पीडा सुनाउँछन् । उनका अनुसार एक महिना अघि विद्यालयले आंशिक तलबभत्ता जेठ ७ गते भित्र दिने सहमति भएको थियो । तर दिइएन ।
अनुदान शिक्षक शुशील ठाकुरले २०७८ फागुन यताको तलबभत्ता नै नपाएको गुनासो गर्छन् । ‘मेरो अहिलेम्मको २ लाख ७४ हजार रुपैयाँ तलबभत्ता बाँकी छ । पटक पटक माग गरे । तर हाम्रो समस्या कसैले बुझेन’ उनले तलब नपाएसम्म धर्ना जारी राख्ने बताए ।
यसअघि तलबभत्ता माग्दै उनीहरु वैशाख २४ गतेदेखि जेठ १ गतेसम्म धर्ना बसेका थिए । त्यतिबला प्रअ, गाउँपालिकाको शिक्षा शाखा र जनप्रतिनिधिको उपस्थितिमा जेठ ७ गतेभित्र आंशिक र असार मसान्त भित्र सबै तलाबभत्ता भुक्तानी गर्ने सहमति भएको थियो । शिक्षकहरु काममा फर्केका थिए । तर आंशिक तलबभत्ता नदिएपछि पुनः उनीहरु आन्दोलमा मउत्रेका छन् ।
पालिकाले केही दिन सशर्त अनुदानबाट १५ लाख रुपैयाँ विद्यालयको खातामा पठाएको प्रमुख प्रशासकीय अधिकृत सन्तोष शर्मा बताउँछन् । विद्यालयले शिक्षकलाई तलब खुवाउन केही दिन अघि १७ लाख ७८ हजार २७२ रुपैयाँको चेक भुक्तानी ल्याउन बैंक गएको थियो । तर एनएमबी बैंकमा रहेको विद्यालयको खातामा पालिकाले पठाएको रकम तत्काल चलाउन नपाउने गरी रोकेको छ । पालिकाले खातामा रहेको रकम रोक्का गर्दा शिक्षकहरुको तलब खुलाउन नसकेको प्रअ केवट बताउँछन् । ‘पालिकालेको कारण विद्यालयको यो अवस्था सृजना भएको हो’ प्रअ केवट आक्रोश पोख्छन् ।
पालिकाले विद्यालयमा भएको अनियमितता तथा श्रोत पहिचान गर्न जेठ ५ गते वडा न. ४ का वडाध्यक्ष निरज कार्कीको संयोजकत्वमा श्रोत पहिचान तथा परिचलान समिति गठन गरेको थियो । समिति जेठ २० गते पालिकालाई बुझाएको प्रतिवेदनमा झण्डै ९० लाख रुपैयाँ अनियमितता तथा बेरुजु रहेको निष्कर्ष निकालेको छ । उक्त रकम पूर्व प्रअ लक्ष्मेश्वर मण्डल, वर्तमान प्रअ केवट र पूर्व विद्यालय व्यवस्थापन समितिले अनियमितता गरेको निष्कर्ष निकालेको प्रतिवेदनमा छ । समितिले निकालेको निष्कर्ष अनुसार अनियमितता तथा बेरुजु फर्छौट नभएसम्म पठाएको रकम उपयोग गर्न नपाउने पालिकाको अडान छ ।
‘समितिको प्रतिवेदन अनुसार देखिएको बेरुजु प्रअ केवट, पूर्व प्रअ मण्डल र पूर्व विद्यालय व्यवस्थापन समितिले पहिला फर्छौट गर्नु पर्छ । तर उनीहरु जम्मा गर्न तयार छैनन् । अदालतमा मुद्दा हालेछन्’ पालिका अध्यक्ष रामअशिष महतो भन्छन् ‘त्यसै कारण यहाँबाट पठाएको रकम चलाउन नपाउने भनेर रोकेका हौं ।’
केवट आफ्ना नजिकका निजी श्रोतकै शिक्षक धर्मेन्द्र यादवलाई अहिलेसम्मका बाँकी ३ लाख रुपैयाँ तलबभत्ता भुक्तानी दिएको उनको, तर अन्य शिक्षकलाई थोरै पनि नदिएर मनोमानी गरेकाले पनि पालिकाको रकम रोकेको अध्यक्ष महतोको भनाइ छ ।
यता पूर्व प्रअ मण्डल आफूमाथि समितिले देखाएको वेरुजु विरुद्ध उच्च अदालत पुगेका थिए । उच्च अदालत जनकपुरमा गाउँपालिका कार्यालय, विद्यालय, वडाध्यक्ष र श्रोत पहिचान तथा परिचालन समितिमाथि दायर गरेको रिटमा जेठ २९ गते सुनुवाइ भयो । उच्च अदालतले तत्काल प्रतिवेदन कार्यान्वयन नगराउन भनेर अन्तरिम आदेश दिएको छ । यसले विद्यालयमा झनै उल्झन बढेको छ ।
पार्टी अनुसार विद्यालय व्यवस्थापन समिति गठन
गत जेठ ३१ गते दलगत अनुसार विद्यालय व्यवस्थापन समिति गठन भएको छ । अध्यक्षमा नेकपा एमालेबाट रामकुमार पाशवान, सदस्यहरुमा नेपाली काँग्रेसबाट विरेन्द्र सिंह, नेकपा मोओवादी केन्द्रबाट जितन महतो, नेकपा एसबाट बबिता महतो, राप्रपाबाट बसन्ती कु. महतो र लोसपाबाट ममता महतो चयन गरिएको छ । राजनीतिक दल र उपस्थित ३९ अभिभावकको भेलाबाट सर्वसहमति रुपमा कानुन अनुसार व्यवस्थापन समिति चयन भएको प्रअ केवट बताउँछन् ।
त्यसअघि पनि व्यवस्थापन समिति गठन गर्न पटक पटक अभिभावक भेला डाकेको थियो । प्रअ केवटका अनुसार यसअघि गंगा प्रसाद साहको अध्यक्ष रहेको विद्यालय व्यवस्थाप समितिको म्याद २०७७ मै सकिएको थियो । तर कोभिड १९ को महामारीका कारण पुनः पुरानै समितिको म्याद थप गरिएको थियो ।
नयाँ व्यवस्थापन समिति गठन गर्न प्रथम पटक ३१ भदौ २०७९ मा अभिभावक भेला डाकियोको थियो । दोश्रो पक असोज ४ गते, तेश्रो पटक मंसिर १४ गते र चौथो पटक माघ १३ गते । अन्ततः जेठ ३१ गते अभिभावक, शिक्षा शाखा, पालिकाका जप्रतिनिधि, सबै दलका प्रतिनिधिको भेला बोलाइयो । ‘जनप्रतिनिधि, शिक्षा शाखा प्रतिनिधि आउनु भएन । दलहरुले उपस्थित अभिभावकबाटै सर्वसहमतिमा विद्यालय व्यवस्थापन समित गठन गरेको छ’ प्रअ केवटले सुनाए ।
उनका अनुसार व्यवस्थापन समिति बिहीन हुँदा विद्यालय संचालमा कठिनाइ भइरहेको थयो । तर भर्खर गठन भएको व्यवस्थापन समितिलाई वैद्यता नदिने पालिकाले जनाएको छ । यो समितिलाई वैद्यता दिए वा नदिएपनि पालिकाले विद्यालयको समस्या समाधान गर्नु पर्ने नवगठित समितिका अध्यक्ष रामकुमार पासवन बताउँछन् ।
‘पालिका विद्यालयको समस्याबाट भागिरहेको छ । हाम्रो समितिलाई वैद्यता देओस् वा नदेओस्, तर समस्या सामाधान तर्फ पालिका अध्यक्षसहित जप्रतिनिधि र सोकारबाला गम्भीर हुनु पर्छ । बालबालिकाको भविष्य खराब भइरहेको छ’ उनेल भने ।