पोखरिया । पर्साको पोखरिया नगरपालिकाको आज हुन लागेको नगरसभा वडा सदस्यहरुले बहिष्कार गरेका छन् । चालू आर्थिक वर्षको आय–व्यय र आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम पारित गराउन नगरपालिकाले बिहीबार नगरसभाको आयोजना गरेको थियो । सो नगरसभा सदस्यहरुले भने बहिष्कार गरेका हुन् ।
पोखरिया नगरपालिकाका मेयर प्रधुमन् चौहानले हैकम देखाएको तथा अपारदर्शी ढंगले बजेट ल्याउने गरेको आरोप लगाउँदै पालिकाका सम्पूर्ण वडा सदस्य तथा कार्यपालिका सदस्य गरी ४० जना वडा सदस्यहरुले नगरसभा बहिष्कार गरेका छन् ।
नगरपालिकाले आगामी वर्षका लागि छुट्याइएको बजेटमा असन्तुष्ट जनाउँदै प्रत्येक वर्ष वडाले पाएको बजेट अनुसार यस वर्ष पनि पाउनु पर्यो , आगामी वर्ष करारमा कर्मचारी भर्ना गर्ने प्रस्तावको विरोध गर्दै सदस्यहरु नगरसभा हलबाट २ किलोमिटर दूरीमा रहेको रानीगंज दरबारमा बसेका थिए । करारमा कर्मचारी भर्ना गर्न संघीय सरकारले यसअघिनै रोक लगाइसकेको अवस्थामा कानूनविपरित करारमा कर्मचारी भर्ना गर्ने प्रस्ताव नगरसभामा ल्याइएको उनीहरुले बताए ।
कानुनविपरित गरिने कार्यको विरोध गर्दा मेयरले विरोध गर्न नपाइने भन्दै आफूहरुको आवाज बन्द गर्न खोजेको उनीहरुको आरोप छ । नगरसभाको निर्णयमा आफूहरुले ‘नोट अफ डिसेन्ट’ लेख्न खोजे पनि मेयरले यसो गर्न नदिएको असन्तुष्ट सदस्यहरुको दाबी छ ।
चित्त नबुझेको कुरामा असहमति व्यक्त गर्ने लोकतान्त्रिक अधिकार हुँदाहुँदै यहाँ मनोमानी गरिएको वडा सदस्यहरूको आरोप छ ।
नगरसभाबाट टाढा गएर बसेका वडा सदस्यहरू संग छलफल गर्न नगरपालिका प्रमुख प्रशासकिय सचिव देवेन्द्र सापकोटा , योजना शाखाका बैजनाथ चौधरी , स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तव , लगायत केही वडा अध्यक्षहरु गएपनि वार्ता सफल हुन सकेन ।
वडा सदस्यहरुको मांग सम्बोधन नभए कुनै पनि हालतमा सभा हुन नदिने उहाँहरुको अडान छ ।
नगरपालिकामा नगर प्रमुख , उप प्रमुख , वडा अध्यक्ष र सदस्यहरू लगायत ५२ जना जनप्रतिनिधिहरु छन् । त्यस मध्ये ४० जना सदस्यहरूले हुन लागेको नगर सभाको विरोधमा छन् ।