वीरगन्ज । एस.ई.ईको परीक्षामा उत्तीर्ण भएका विद्यार्थीहरुको लागि वीरगन्ज महानगरले कक्षा ११ र १२ मा अध्ययन गर्नका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्तिमा पास गराइदिने भन्दै वीरगन्ज महानगरपालिका ६ नम्बर गेट्निर रहेको माेदी इन्स्टिच्युट एंड ट्रेनिङ्ग सेन्टरले विद्यार्थीबाट झण्डै एक लाख रुपैयाँ माग्दै गरेको कुरा बाहिर आएको छ ।
मोदी इन्स्टिच्युट एंड ट्रेनिङ्ग सेन्टरका संचालक राहुल मोदीले विद्यार्थीहरुलाई छात्रवृत्तिमा पास गराइदिने आश्वासन दिई एक लाख रुपैयाँ माग्ने गरेका छन् । महानगरले उपलब्ध गराउँदै आएको छात्रवृत्तिमा पास गराई रोजेको विद्यालयमा पढ्न लगाइदिने नाममा संचालक मोदीले विद्यार्थीहरुबाट १ लाख रुपैयाँ माग्ने गरेको अडियो रेकर्ड सार्वजनिक भएको छ ।
छात्रवृत्तिका लागि महानगरको शैक्षिक शाखालाई ५० हजार , विद्यार्थीले रोजेको विद्यालयलाई ३० हजार र आफूले २० हजार लिने गरी प्रत्येक विद्यार्थीहरुसँग एक एक लाख रुपैयाँ माग्ने गरेको अडियो रेकर्डमा नै उनले बोलेका छन् ।
विद्यार्थीलाई परीक्षामा सहयोग गर्ने र छात्रवृत्तिमा पास गराउने भन्दै खर्च व्यवस्थापनका लागि लाखौ रकम असुलेको गरेको केही अभिभावकहरु भन्न थालेका छन् । सबैलाई मिलाउँछौ भन्दै पैसा असुल्ने गरेको नाम नखुलाउने शर्तमा एक विद्यार्थीले बताए ।
मोदी कन्सल्टेन्सीमा पढ्न आउने सम्पूर्ण विद्यार्थीहरुलाई विभिन्न किसिमको लोभ देखाएर पैसा असुल्ने गरेको मोदी इन्स्टिच्युट एंड ट्रेनिङ्ग सेन्टर वरपरका मानिसहरूले पनि भन्न थालेका छन् ।
पैसा माङ्गेको अडियो रेकर्ड बाहिर आउन साथ विद्यार्थीहरुलाई विभिन्न किसिमको डर त्रास देखाई चुपचाप बस्न संचालक मोदीले भनेका छन् । विद्यार्थीलाई भनेका छन् यो कुरा बाहिर आयो भने भोलिको दिनमा तिम्रो भविष्य खराब गरिदिन्छु कहाँ पढ्छौं पढ्न दिन मारिदिन्छु जस्ता विभिन्न किसिमको डर त्रास देखाई ती विद्यार्थीलाई चुपचाप बस्न भनेका छन् ।
यस विषयमा हामीले संचालक मोदीसंग कुरा गर्दा मैले नेपालमा नभई केही दिन बाहिर रहेको र यो कुराको बारेमा मलाई जानकारी नभएको प्रतिक्रिया दिए । मोदी इन्स्टिच्युट एंड ट्रेनिङ्ग सेन्टरको बारेमा बुझ्दै जाँदा राहुल मोदी नेपाली नागरिक नभई भारतीय नागरिक रहेको र नेपाली चेलीसंग बिहे गरि उहाँको नाममा इन्स्टिच्युट दर्ता गराई विभिन्न परीक्षा तथा अन्तर्राष्ट्रिय विद्यालयहरूमा राम्रो चिनजान भएको बताउँदै त्यहाँ पनि पढ्न जाने नेपाली विद्यार्थीहरुसंग पैसा ठगी गर्दै गरेको जानकारी प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले कुनै किसिमको कार्य गराइ दिने नाममा कुनै पनि व्यक्तिले विद्यार्थीसँग रकम माग्ने जो कोही भएपनि हामी कार्यवाहीको दायरामा ल्याउने बताए । प्रहरी नायब उपरीक्षक गिरीले विद्यार्थीबाट पैसा अशुल्ने विद्यालय र सम्बन्धित व्यक्तिलाई कानुनी कारबाही समेत गर्ने बताए ।