वीरगञ्ज । खानेपानीको समस्यासँग जुधिरहेका नगरवासीका लागि ट्यांकरबाट खाने पानी वितरण गर्दै आएको वीरगञ्ज महानगरपालिकाले अत्यावश्यक स्थानहरुमा टंकी र धारा जडान गर्ने कार्यलाई तिब्रता दिएको छ ।
खानेपानी संस्थानको पाइपलाइन विस्तार भएको वडा नम्वर १ देखि १७ र १९ मा धारा जडान गर्नुका साथै पाइपलाइन नपुगेका स्थानमा टंकीमार्फत अस्थायी रुपमा पिउने पानीको व्यवस्था मिलाउन सुरु गरिएको हो ।
घरघरमा रहेका चापाकल सुकेर पानीको समस्यासँग जुधिरहेका नागरिकलाई तत्काल आवश्यक पानीको व्यवस्था मिलाउन महानगरका मेयर राजेशमान सिंहले निर्देशन दिनुभएको थियो ।
महानगरले आइतबार वडा नम्वर १ र १५ को सार्वजनिक स्थानमा १० हजार लिटरको टंकी राखेर पिउने पानीको प्रबन्ध मिलाएको छ । यस्तै खानेपानी संस्थानको धारा सार्वजनिक स्थानहरुमा जडान गर्ने कार्य सोमबारदेखि नै सुरु गर्ने गरि आवश्यक सबै प्रकृया मिलाइसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो ।
खानेपानी पाइपको लाइन भएका क्षेत्रमा सार्वजनिक चोक तथा बढी चाँप भएका स्थानमा धारा जडान गर्नुका साथै पाइपलाइनले नछोएका वडा तथा स्थानमा भने टंकी नै राख्ने प्रबन्ध मिलाइएको पनि उहाँले बताउनुभयो ।
गमी मौसममा चापाकल सुकेपछि अरु कुनै पानीको स्रोत नभएकाहरुको जनजीवन कष्टकर हुँदै गएकाले महानगरले नगरवासीको जनजीवन सहज बनाउन आवश्यक व्यवस्था मिलाएको हो ।
केही दिनभित्रै ३२ वटै वडामा आफूहरुले धारा जडानका साथै टंकी राखिसक्ने गरी काम गरिरहेको पनि प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
यस्तै वडा नम्वर २४ का वडाअध्यक्ष आशुतोष चतुर्वेदीले भने आफ्नो व्यक्तिगत खर्चमा टंकी राखेर वडाका बासिन्दालाई पानीको व्यवस्था मिलाउनुभएको छ ।
सबैको प्रयास र हातेमालोबाट मात्रै प्राकृतिक विपत्तिको सामना गर्न सकिने भएकाले वडावासीका लागि आफ्नै लगानीमा १० हजार लिटरको ट्यांकी मार्फत ठाउँठाउँमा पानीको प्रबन्ध मिलाएको उहाँले बताउनुभयो । महानगरको मात्रै मुख ताक्न नहुने भन्दै उहाँले भन्नुभयो ‘सबै जनप्रतिनिधि, उद्योगी व्यवसायी साथमा साथ मिलाएर अघि बढे यस्ता विपत्तिहरु सहजै सामना गर्न सकिन्छ ।’