वीरगञ्ज । राष्ट्रिय युवा सङ्घ नेपाल पर्साले “मिसन नेक्स्ट इलेक्सन, टार्गेट न्यू जेनेरेशन” अभियानको सुरुवात गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) पर्साको श्रीपुरस्थित कार्यालयमा आयोजित एक कार्यक्रमबिच उक्त अभियानको पर्सा जिल्लामा सुरुवात भएको हो ।
राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको निर्णयअनुसार सङ्घका केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठ लगायतका नेताहरूको उपस्थितिमा अभियानको सुरुवात गरिएको सङ्घका जिल्ला अध्यक्ष मोहम्मद निजामले जानकारी दिए । अध्यक्ष निजामका अनुसार बैठकले पर्सा जिल्लाका सम्पूर्ण स्थानीय तह, वडा र टोलसम्ममा अभियान सञ्चालन गर्ने योजना बनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका युवा सङ्घको केन्द्रीय उपाध्यक्ष पुष्पराज श्रेष्ठले अभियानका क्रममा १६ देखि २५ वर्ष सम्मका नवयुवाहरूलाई लक्षित गरी नेतृत्व तथा व्यक्तित्व विकास कार्यक्रम सञ्चालन गर्ने, जिल्लाका सम्पूर्ण स्थानीय तह, वडा र टोलसम्म जहाँ युवा त्यहाँ युवा सङ्घ, एक घर दुई सदस्यता, एक कमिटी एक रचनात्मक काम, जहाँ युवा त्यहाँ उत्पादन जस्ता कार्यक्रमहरू आयोजना गर्ने, बाटो बिराएर अन्यत्र लागेका युवालाई पार्टी प्रवेश, प्रत्येक युवालाई सैद्धान्तिक, राजनीतिक, उद्यमशीलता र जीवन उपयोगी प्रशिक्षण दिने जस्ता कार्यक्रम गर्नुका साथै विभिन्न क्षेत्रका बौद्धिक, विज्ञ युवाहरूलाई सङ्गठनमा उचित जिम्मेवारी सहित काम गर्ने अवसर प्रदान गर्ने योजना रहेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै जिल्ला अध्यक्ष मोहम्मद निजामले अभियानअन्तर्गत प्रविधिको प्रयोग गरी सबै तहसम्मको कमिटीमा आबद्ध युवाहरूको सदस्यता नवीकरण तथा थप नवयुवाहरूलाई सदस्यता वितरण गरी जिल्लामा सङ्घको सदस्यता सङ्ख्या वृद्धि गर्ने योजना रहेको सुनाए । उनले सङ्गठनले अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन केन्द्र, प्रदेश तथा जिल्लाबाट पालिका तहसम्मबाट खटेका उत्प्रेरकहरूसँगको समन्वयमा आगामी योजनाहरू पनि बनाइने बताए ।
यस्तै बैठकले राष्ट्रिय युवा सङ्घ नेपाल पर्सा कार्यसमितिको अधिवेशन भदौ २३ गते गर्ने निर्णयसमेत गरेको उनले जानकारी दिए ।
जिल्ला अध्यक्ष मोहम्मद निजामको सभापतित्वमा भएको कार्यक्रममा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष डा. विश्वम्भर शर्मा, केन्द्रीय निर्वाचन आयोग प्रमुख बलराम बेलबासे, केन्द्रीय सदस्य रवि गुप्ता, बाबुराम खनाल, कौसल किशोर साहलगायतको सहभागिता रहेको थियो ।