सिरहा । वारि सिरहाको सदरमुकाम, पारि धनुषाको कमला नगरपालिका । वारिपट्टि घर, पारिपट्टि खेती जग्गा । वारिका नातेदार पारि, पारिका नातेदार वारि, बीचमा कमला नदी ।
भौगोलिकरूपमा कुनै विकट, दूरदराज वा पिछडिएको क्षेत्र होइन । सुगम स्थान मानिने तराई मधेसको ‘लाइफ लाइन’का रूपमा हेरिएको हुलाकी लोकमार्ग । अझ भनौँ, मधेुस प्रदेशको राजधानी जनकपुरधामसँग जोड्ने छोटो दूरीकोे राष्ट्रिय गौरवको आयोजना ।
झन् उदेकलाग्दो कुरा त १२ वर्षदेखि निर्माणाधीन कमलाको पुल अझै कहिले बन्ने हो कुनै अत्तोपत्तो छैन । बर्खायाममा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयलाई नातेदारसँग भेटघाट गर्न र आफूले गरेको खेतीपातीको गोडमेल तथा रेखदेख गर्नका लागि आवतजावत गर्न जुगौँदेखि सास्ती खेपिरहनुपरेको छ ।
हुलाकी लोकमार्गअन्तर्गत सिराहाको बसपिट्टा र धनुषाको साघारासम्म एक किलोमिटरसम्म कमला नदी फैलिएको छ । नदीमा पुल समयमा नबन्दा सिरहा र धनुषाका कैयौँ गाउँका जनता समस्यामा छन् । स्थानीयवासीहरूलाई आवतजावत गर्नलाई कि त पूर्वपश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर वा सीमावर्ती भारतीय बजार जयनगर पुगेर करिब दुई घन्टा लामो यात्रा गर्नुपर्छ कि नदीमा जोखिमपूर्ण डुङ्गा यात्रा गर्नुपर्छ । त्यो पनि त्यति सहज छैन ।
यही समस्यालाई सम्बोधन गर्न सिरहा नगरपालिकाले अस्थायी प्रकृतिको बाँसको टेका लगाएर काठको पुल बनाएको छ । उक्त पुल आइतबारबाट सञ्चालनमा आएको पनि छ । उक्त पुलमा अब मोटरसाइकल तथा पैदलयात्री निःशुल्क यात्रा गर्न सक्नेछन् । तर उक्त काठको पुलले यो बर्खायाम धान्नेमा शङ्का व्यक्त गर्छन् स्थानीय मोहनकुमार दास । “लामो समयदेखि निर्माणाधीन पक्की पुल नबन्दा यहाँका जनताले सास्ती खेप्नुपरेको हो । काठको यति सामान्य पुल बन्दा पनि खुसी व्यक्त गर्नुपर्ने अवस्था छ । जसोतसो कामचलाउ काठको पुल त बन्यो तर कहिलेसम्मलाई हो भन्न सकिँदैन”, उनी भन्छन्, “नदीमा अलि ठूलो बाढी आयो भने यो बनेको पुल पनि बगाएर लैजान्छ । फेरि समस्या उस्ताको उस्तै ।”
सिरहा नगरपालिकासँग समन्वय गरी काठको पुल बनाउनका लागि पहल गर्नुहुने स्थानीय युवा रामचन्द्र यादव भन्छन्, “स्थानीय बासिन्दा र यस हुलाकी लोकमार्गमा आवतजावत गर्ने यात्रीलाई बर्खामास नदीमा बाढी आई कठिनाइ हुने भएकाले आवतजावत गर्नलाई सहज होस् भनी नगरपालिकासँग पहल गरिएको हो । यसमा नगरपालिकाले पनि सकरात्मकरूपमा लिएर पुल बनाउने काम गरेको छ, जुन सराहनीय छ । यसले गर्दा यात्रुको समयको बचत तथा दूरीलाई छोटो बनाएको छ । दैनिक दुई सयभन्दा बढी मोटरसाइकल तथा हजारौँ पैदलयात्रीलाई सहज भएको छ ।”
नदी पारिपट्टि आफ्नो खेतीपातीको हेरचाहमा जानलाई अब तत्काललाई भए पनि समस्या टरेको छ सुभकान्त यादवलाई । सिरहा नगरपालिका–६ स्थायी घर भएका उनलाई नदी वारपार गर्न मात्र सहज भएको छैन, कृषि उपजलाई बजारसम्म लैजान पनि सहज भएको छ । “खेतीपाती गर्नका लागि नदीबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य थियौँ । काठकै अस्थायी पुल भए पनि हामीलाई सहज भएको छ”, उहाँले खुसीको भाव व्यक्त गर्दै भने, “अब पारिपट्टिको खेतबारीमै तरकारी तथा बालीनाली सडेर नजाने भयो ।
बाँसको पुल बनिसकेपछि सिरहा चोहर्वाका मोहम्मद साहिबलाई त्यही बाटो हुँदै धनुषाको कमला–४ स्थित ससुराली घर जानका लागि सहज भएको छ । उनले खुसी हुँदै भने, “पूर्वपश्चिम महेन्द्र राजमार्ग मिर्चैया—कर्जना भएर जानुपरेको भए मलाई दुई घन्टा बढी लाग्ने थियो । यही काठकै पुल भए पनि ठूलो राहत मिल्यो”, त्यस्तै आफ्ना सात वर्षीय र नौ वर्षीय बच्चा लिएर सिरहा सदरमुकामबाट धनुषाको कमला –९ स्थित माइतीघर हिँडेकी मनिषा मण्डलले हर्षित हुँदै भनिन्, “बालबच्चा लिएर नदी पार गर्न निकै कठिन थियो । अब ढुक्कसँग माइत पुग्न सकिने भयो । उता (माइती)बाट पनि कुनै चिन्ता लिने कुरा भएन ।”
हुलाकी सडकअन्तर्गत धनुषा–सिरहा जोड्ने कमला पुल निर्माण सम्झौता भएको १२ वर्षपछि सञ्चालन नहुँदै डेढ वर्षअघि भासिएको थियो । विसं २०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने सम्झौता भएको थियो, तर पटक–पटक म्याद थपेर करिब १० वर्ष लाग्यो । निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भई उद्घाटनको तयारी गरिरहेकै बेला विसं २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि पुनःनिर्माणको काम तत्काललाई अनिश्चित भयो ।
यही अनिश्चितताका बीच निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म भासिएको पुल पुनःनिर्माण गर्ने गरी पुनः काम सुरु गरेकोे थियो तर कमला नदीमा बढेको पानीको बहावका कारण पुनःनिर्माणको काम असार नलाग्दै रोकिएको छ । निर्माण कम्पनीका अनुसार आगामी असोजबाट रोकिएको पुल निर्माणको काम पुनः सुरु हुनेछ ।