वीरगञ्ज । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र श्रीपुर-मुर्लीको आयोजनामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत वीरगञ्जस्थित श्री नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुरमा अध्ययनरत विद्यार्थीहरूसँग लागू औषध तथा साइबर क्राइम सम्बन्धी अन्तरक्रिया गरिएको छ ।
कार्यक्रममा पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले लागू औषध, साइबर क्राइम, सामाजिक सञ्जाल प्रयोग सम्बन्धी चेतनामूलक प्रशिक्षण दिँदै अपराधबाट बच्ने विभिन्न उपायहरूको बारेमा जानकारी दिए । उनले सामाजिक सञ्जालको दुरुपयोगबाट आपराधिक गतिविधिहरू बढ्दै गएको चर्चा गर्दै त्यस्ता अपराधबाट बच्न सदैव सजग हुन समेत आग्रह गरे ।
लागू औषधको कुलतले जीवन बरबाद हुने बताउँदै उनले पछिल्लो समय सामाजिक सञ्जालको लतका कारण पनि कयौँ आपराधिक घटना भएको बताए । उनले लागू औषधको सेवनले भौतिक स्वास्थ्यमा मात्र नभएर मनोसामाजिक स्वास्थ्यमा समेत असर पार्ने बताए । त्यस्तै उनले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत रहनुपर्ने सुझाव दिँदै भने, ‘सामाजिक सञ्जाल प्रयोग गर्दा हामी धेरै सतर्क हुनुपर्छ, त्यहाँ सहजै ठगिन सकिन्छ । कुनै पनि व्यक्तिसँग सामाजिक सञ्जालमा जोडिनभन्दा पहिला उसको गतिविधि हेरेर मात्र जोडिनु पर्छ ।’
एसपी शाहले प्रहरी विद्यार्थी तथा बालबालिकाहरूको साथी भएको जिकिर गर्दै भने, ‘हामी तपाईँहरूको साथी हौँ, हामीसँग डराउनु पर्दैन । तपाईँको गाउँ-ठाउँ, टोल-छिमेकमा कुनै पनि आपराधिक गतिविधि भए प्रहरीलाई खबर गर्नुहोला । यसरी हामी एक अर्कालाई सहयोग गर्न सक्छौँ ।’
त्यस्तै केन्द्रका अध्यक्ष रामकुमार सर्राफले प्रविधिको प्रयोग बढ्दै संसार साँघुरिएको अवस्थामा प्रविधिको गलत प्रयोगले समाजमा अपराध बढ्दै गएको बताए । उनले पनि एसपी शाहको कुरालाई दोहोर्याउँदै भने, ‘सामाजिक सञ्जाल प्रयोग गर्दा साह्रै सचेत हुनुपर्छ ।’
सर्राफको सभापतित्वमा भएको कार्यक्रममा वीरगञ्ज महानगरपालिका – ११ का वडाध्यक्ष अजय कुमार बरै, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक आशुतोष शाही, जिल्ला प्रहरी कार्यालय पर्सास्थित महिला तथा बालबालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरीक्षक मनीषा लौडारी, सामुदायिक सेवा केन्द्र श्रीपुर-मुर्लीका सचिव दिलीप प्रधान, वीरगञ्जस्थति सामुदायिक आँखा अस्पतालका प्रमुख महेश सिंह धामी, नेपाल राष्ट्रिय विद्यापीठ स्कुलका शिक्षक शिवनन्दन साह, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य जगत् राई, फोनिज पर्साका अध्यक्ष अजित भुजेल, सामुदायिक प्रहरी सेवा केन्द्रकी रेखा घिमिरेलगायतको उपस्थिति रहेको थियो ।