बारा जिल्लामा अन्तराष्ट्रिय विमान स्थलका लागि तोकिएको टाँगिया बस्तीबाट घरेलु हतियार भरुवा बन्दुक सहित जनावरको दाँत र नंग्रा बरामद भएको छ । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित रहेको सो बस्तीबाट मंगलवार सागर लामाको घरबाट बरामद भएको हो ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी नायब निरिक्षक घनश्याम श्रेष्ठको नेतृत्वमा १५ जनाको टोलीले बिशेष सुचनाको आधारमा छापामारी गर्दा लामाको घरबाट सो सामानहरु बरामद गरेका छन् ।
प्रहरीका अनुसार लामाको घरबाट लोड भएको भरुवा बन्दुक एक थान, सोही बन्दुकमा प्रयोग हुने बारुद, छर्रा, जनावरको दाँत जस्तो देखिने बस्तु दुई थान, जनावरको रौँ, नंग्रा ३ थान बरामद भएको छ ।
बरामद भएको हातहतियार र सामानहरु सहित लामालाई पक्राउ गरी लिएर आउने क्रममा प्रहरी र स्थानिय बिच झडप समेत भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लामा बन्यजन्तुको शिकारीमा संलग्न रहेको जनाउदै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।
सो झडपमा परी इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत प्रहरी बरिष्ठ नायब निरिक्षक कमल बहादुर शाही र प्रहरी सहायक निरिक्षक बलराज गिरी घाइते भएका छन् ।
ति दुबै जनाको अवस्था सामान्य रहेको र तिनिहरुको सामुदायिक प्रसुति अस्पताल निजगढमा उपचार भैरहेको छ । शाहीको बाँया हातमा चोट लागेर घाईते बनेका छन भने गिरीको बाँया कुम्भ र बाँया हातमा चोट लागेर घाईते भएका हुन ।
प्रहरी माथि आक्रमण गरी निज सागर लामालाई स्थानीय बासीहरुले भगाएको प्रहरीले आरोप लगाएको छ । प्रहरी माथि आक्रमण गरी निज लामालाई हथकडी सहित प्रहरी टोलीबाट खोसेर भगाएको प्रहरीले बताएको हो ।
सो क्रममा प्रहरीले निजलाई भाग्न नदिन र भिड हटाउन ३०३ राईफलबाट ५ राउण्ड हवाई फायर समेत गरेको थियो । फरार व्यक्तिको खोजीकार्य भैरहेको प्रहरीले जानकारी दिएको छ ।