वीरगंज । पर्साकाे पटेर्वा सुगाैली गाउँपालिका वडा नं. ४ भलुवाही खोलाको डिलमा पिता परमेश्वरको नामले गर्दै आएका झारफुक गर्ने धामीहरुलाई प्रहरीले लखेटेकाे समाचार प्राप्त भएकाे छ ।
स्थानीय विकास थारु लगायतका केही व्यक्तिले साे स्थानमा हप्ताको शुक्रवार र मङ्गलवार झारफुककाे कार्यक्रम गर्दै आएका थिए । सत्य बचन आत्मिक उत्थान केन्द्रकाे नामले हुँदै आएकाे कार्यक्रमका कारण स्थानीयले समस्या झेल्नुपरेको भन्दै गुनासाे प्रहरी समक्ष पुगेपछि प्रहरीले अब देखि यस्ता कार्यक्रम नगर्न चेतावनी दिदै लखेटेकाे हाे ।
प्रहरी त्यहाँबाट लखेटेपछि विकास थारु लगायतका झारफुक गर्नेहरु महुवनस्थित पुगेर बसेका थिए । त्यहाँबाट पनि इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले प्रहरी चाैकी महुवनलाई खबर गरेर लखेटेकाे थियाे ।
२१ औं सताव्दीमा आएर पनि झारफुककाे नाम बिरामीहरुलाई सास्ती दिने काम हुँदै आएकाे थियाे । पास्टरकाे नामले गरिने झारफुकका कारण बिरामीहरु त्यहीं बेहाेस हुने र केहि समय पछि फेरी हाेसमा आउने प्रत्यक्ष रुपमै देख्न सकिन्थ्याे । त्यस्ता कार्यहरु गैर कानुनी भएपनि खुल्याम रुपमा हुँदै आएकाे थियाे ।
भलुवाही खोलाको पूर्वतिर रहेको बाँधसँगैको सिसौँघारीमा हुँदै आएको कार्यक्रममा नेपाल तथा छिमेकी मुलुक भारतका विभिन्न राज्यबाट सहभागी हुन आउनेहरू तथा तिनीहरूको सवारीसाधनका कारण समस्या उत्पन्न भइरहेको थियाे ।
साइकल, मोटरसाइकल, जीप, कार, ट्याक्टर, टेम्पो, मयुरीलगायत सवारीसाधनको पार्किङ व्यवस्थापन नहुँदा सो सडकखण्ड कार्यक्रमको दिन प्रायः बन्द हुने गरेको यात्रीहरूले गुनासा गर्दै आएका थिए ।
साे स्थानमा जथाभावी दिसापिसाब गर्ने, पानीका बोतल, प्लास्टिक, कागज तथा अन्य अनावश्यक पदार्थको उचित व्यवस्थापन नहुँदा फोहर बढ्दै गएको स्थानीयको गुनासाे थियाे ।