उद्योगको धुलो भनेर सुर्ति ल्याउने आयातकर्ता भने अदालती प्रक्रियामा
वीरगन्ज — भारत हुँदै वीरगञ्ज सुक्खा बन्दरगाहमा २०७९ असार १३ मा आएको कन्टेनरमा मुङको दाल ल्याइएको भनी घोषणा गरिएको थियो । तर भन्सार कार्यालयका कर्मचारीले जाँचपासका क्रममा कन्टेनरमा रहेको आयातित वस्तु खोलेर हेर्दा ५८ लाख ३८ हजार ४ सय खिल्ली चुरोट बरामद भयो । सो चुरोट दुबईबाट ल्याइएको पाइयो ।
काठमाडौं टोखास्थित कालिका इन्टरप्राइजेजले आयात गरेको उक्त कन्टेनर जाँचपासका लागि भन्सार प्रज्ञापनपत्रमा मुङ दाल घोषणा गरिएको थियो । कन्टेनरको अगाडितिर मुङको दालले ढाकेर पछाडितिर ‘गुडाङ गरम’ र ‘मोन्ड भेरियन्स’ ब्रान्डको चुरोट ल्याएको पाइएको थियो । करिब ४ सय कार्टुनमा चुरोट राखिएको फेला परेको थियो । त्यसबेला मुचुल्का उठाएर तत्काल कन्टेनर सिल गरिएको थियो ।
सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोष न्यौपानेले नेपालको कानुनअनुसार बिक्री गर्न नमिल्ने भएकाले विदेशी चुरोट जफत गरिएको दुई महिनापछि अर्थात् २०७९ भदौ २१ मा नष्ट गरिएको जानकारी दिए ।
मुङको दाल भनेर चुरोट ल्याएका आयातकर्तालाई भन्सार कार्यालयले सम्पर्कमा आउन पत्राचार गरेपनि हालसम्म सम्पर्कविहीन छन् । हुलाक रजिष्ट्री मार्फत आयातकर्ताको ठेगानामा भन्सार कार्यालयले पत्राचार गरेको भए पनि आयातकर्ता सम्पर्कमा आएका छैनन् । कालिका इन्टरप्राइजेजका नाममा वस्तु भित्रिएकाले राज्यले आयातकर्ता खोज्न चाहेमा सहजै भेटिने भए पनि माथिल्लो तहबाटै संरक्षण गरिएको शंका उब्जिएको छ ।
‘मुङको दाल भनेर चुरोट आयात गर्ने आयातकर्ता भेटिएनन्,’ सूचना अधिकृत न्यौपानेले भने, ‘जाँचपास गराउने एजेन्ट र आयातकर्ताको सम्पत्ति रोक्का गर्न सरोकारवाला निकायलाई पत्राचार गरिसकेका छौं ।’ मुङको दाल घोषणा गरी दुबईबाट विदेशी चुरोट मगाएका आयातकर्तालाई वीरगञ्ज भन्सार कार्यालयले १० करोड ६६ लाख रुपैयाँ जरिवाना गरेको थियो । तर आयातकर्ता नै सम्पर्कविहीन भएपछि जरिवाना तिरिएको छैन । सुक्खा भन्सार कार्यालयका अनुसार प्रज्ञापनपत्रमा आयातकर्ताले २६ हजार ६१० केजी मुङ दाल आयात गरेको घोषणा गरेका थिए । तर कन्टेनरबाट जम्मा १४ हजार ८२५ केजी मात्र मुङ दाल बरामद भएको थियो ।
त्यस्तै गत साउन १८ मा कम्बोडियाबाट भारत हुँदै वीरगन्ज सुक्खा बन्दरगाह आएको दुईवटा कन्टेनर जाँचपास गर्ने क्रममा औद्योगिक धुलोको सट्टा सुर्ति तथा अन्तःशुल्कजन्य सामान बरामद भएको थियो । सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत न्यौपानेका अनुसार औद्योगिक धुलो घोषणा गरिएका दुई वटा कन्टेनरबाट सुर्ति बरामद भएको थियो । उनका अनुसार गलत घोषणा गर्ने आयातकर्तालाई ७ करोड ७५ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।
दुईवटै कन्टेनरमा सुर्ती ल्याएका आयातकर्ताको मालवस्तु जाँचपास गर्ने क्रममा एउटा कन्टेनर भन्सारको रातो मार्ग (रेड लेन) मा स्वघोषणा भएको थियो भने दोस्रो कन्टेनर पहेँलो मार्ग (एल्लो लेन) मा परेको थियो । ‘भन्सार जाँचपास हुने क्रममा रातो मार्गमा परेको सामानको कागजपत्रका साथै भौतिक परीक्षण पनि गरिन्छ,’ सूचना अधिकृत न्यौपानेले भने, ‘पहेँलो मार्गमा आएका सामानको कागजात मात्र जाँच गर्ने गरिएको छ ।’
भन्सार कार्यालयका अनुसार जाँचपासका लागि रातो मार्गमा स्वघोषणा भई कैफियत फेला पर्दा सामान जफत गरी १ सय प्रतिशत जरिवाना गरिन्छ भने पहेँलो मार्गमा गलत घोषणा गरेको फेला पर्दा सामान जफत गरी २ सय प्रतिशत जरिवाना गर्ने प्रावधान छ । कार्यालयका अनुसार रातो मार्गमा जाँचपास भएको सामान जफत गरी ३ करोड ४४ लाख र पहेँलो मार्गमा जाँचपास भएको सामान जफत गरी ४ करोड ३१ लाख रुपैयाँ जरिवाना निर्धारण गरिएको थियो ।
वस्तुको गलत घोषणा गरी आयात गरेको भन्दै भन्सारले ७ करोड ७५ लाख जरिवाना कायम गरेपछि आयातकर्ता सी खडका एग्रो प्रोडक्सन तथा सप्लायर्सले अन्याय भएको भन्दै अदालत गएको थियो । सूचना अधिकृत न्यौपानेका अनुसार अदालतले यथास्थितिमा राख्नु भन्ने आदेश दिएको छ । ‘सामान हामीले जफत गरेका छौँ,’ उनले भने, ‘जरिवानाको कारण सहित हामी अदालतलाई जवाफ दिन्छौँ, अन्तिम आदेश आएको छैन ।’
आयातित वस्तुलाई भन्सार बिन्दुमा अर्कै वस्तुको नाम घोषणा गरी जाँचपास गराउन खोज्दा वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले गरेको १८ करोड ४१ लाख रुपैयाँ जरिवाना आयातकर्ताले दाखिला गरेका छैनन् ।