काठमाडौं, साउन २४ । सत्तारुढ गठबन्धनभित्रको बिवाद छताछुल्ल भएको छ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सरकार नै छाड्ने धम्की दिएपछि गठबन्धनभित्रको बिवाद सहतमा आएको हो ।
यादवले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्रधानमन्त्री र गृहमन्त्रीको कारण देखाएर सरकार छाडने धम्की दिनुभएको थियो । यादवको सो भनाईलगत्तैदेउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको हो ।
गृह मन्त्रालयले गौर हत्याकाण्डका पीडितसँग पाँच बुँदे सहमति गरेपछि रुष्ट बन्नुभएका यादवले मंगलबार दिउँसो देउवासँग भेटनु भएको थियो । सो क्रममा अध्यक्ष यादवले गौर हत्याकाण्डका पीडितसँग सरकारले गरेको सम्झौताप्रति सभापति देउवासँग असन्तुष्टि जनाउनु भएको छ ।
स्रोतका अनुसार यादवले सरकार छोड्नेसम्मको चेतावनी देउवालाई दिनुभएको थियो । जवाफमा देउवाले आफूले प्रधानमन्त्रीसँग छलफल गर्ने र सरकार छाड्ने जस्ता अप्रिय निर्णय नलिन यादवलाई सुझाउनु भएको थियो । यादवले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको बारेमा समेत देउवासँग कडा असन्तुष्टि जनाउनु भएको छ ।
यादवसँगको छलफलपछि आज बिहान सभापति देउवा रक्षामन्त्री एवं उपसभापति पुर्णबहादुर खड्का, प्रमुख सचेतक रमेश लेखक र कृष्ण सिटौंलासहितका नेता लिएर प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार जानुभएको थियो । २०६३ चैत ७ गतेगौरस्थित राइसमिलको चौरमा तत्कालीन मधेशी जनाअधिकार फोरम र माओवादीबीच झडप भएको थियो। गौरमा भएको झडपमा २७ जना माओवादी कार्यकर्ताले ज्यान गुमाएका थिए । पछिल्लो समयमा गौरमा भएको घटनामा मृत्यु भएका परिवार तथा घाइतेका परिवारले आन्दोलन गरिरहेका छन ।
हत्याकाण्डका पीडितसँग गृह मन्त्रालयमा मंगलबार पाँच बुँदे सहमति भएको छ । उक्त सहमतिमा संघर्ष समितिका अध्यक्ष रुपसागर देवी, गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले हस्ताक्षर गर्नुभएको छ । पाँच बुँदे सहमति पत्रमा गौर घटनाका विषयमा तत समयमा दर्ता भएका जाहेरी समेतलाई छानबिन र अनुसन्धान गरी तथ्य र प्रमाणका आधारमा दोषीलाई कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाउने भनिएको छ ।
तत्कालीन सरकारद्वारा २०६५ पुष ९ गतेको मन्त्रिपरिषदको बैठकबाट सहिद घोषणा गरिएका गौर घटनाका मृतकहरूको विवरण नेपाल राजपत्रमा प्रकाशन गर्ने तथा मृत्यु भएका तर सहिद घोषणा हुनबाट छुटेकालाई यस सम्बन्धी प्रक्रिया अगाडि बढाउने उल्लेख गरिएको छ । स्रोतका अनुसार देउवासँगको छलफलमा यादवले ‘आफुलाई फसाउँनका लागि’ उक्त समिति बनाउन लागेको बताउनु भएको थियो ।
सरकारले गौर हत्याकाण्डको छानबिन गर्ने भएपछि जनता समाजवादी पार्टी नेपालले आकस्मिक रुपमा कार्यकारिणी समितिको बैठक समेत बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय, बालकुमारी ललितपुरमामा आकस्मिक रुपमा बोलाईएको सो कार्यकारिणी समितिको बैठकमा गौर हत्याकाण्ड छानबिन गर्ने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले समिति बनाउने बिषयमा छलफल भइरहेको छ ।
‘प्रधानमन्त्रीले गौर हत्याकाण्डका बारेमा छानबिन समिति बनाउन सहमति जनाएपछि त्यसवाट उत्पन्न परिस्थीतिका बारेमा आजको बैठकमा छलफल हुनेछ, सो छलफल पछि पार्टीले आफनो धारणा सार्बजनिक गर्नेछ’ एक नेताले भने । ती नेताका अनुसार उक्त सहमति अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई फसाउँनका लागि सरकारले उक्त समिति बनाउन लागेको बुझाई जसपा, नेपालको रहेको छ ।
उक्त हत्याकाण्ड छानबिन बिरुद्ध जसपाले घटनास्थल, गौर लक्षित आन्दोलनको कार्यक्रम गर्न सक्ने उनले जनाएका छन । यादवले सो बिषयलाई लिएर हिजो आफना पार्टीका शिर्ष नेता र सांसदहरुसँग पनि छलफल गर्नुभएको थियो ।