वीरगञ्ज । वीरगञ्जमा पछिल्लो चार महिनामा १ हजार ४ सय घरमा नेपाल खानेपानी संस्थानको धारा जडान गरिएको छ ।
गत वैशाख यता वीरगञ्ज महानगर क्षेत्रमा चापाकलहरू सुकेर खानेपानीको समस्या भएपछि संस्थानको धारा जडान गर्ने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो चार महिना यता विभिन्न वडामा गरी १ हजार ४ सय घरधुरीले खानेपानी संस्थानको धारा जडान गराएको वीरगञ्जस्थित खानेपानी संस्थान कार्यालयले जनाएको छ ।
वीरगञ्ज महानगरमा गत वैशाखमा ४१, जेठमा १ सय ५७, असारमा २ सय २ र साउन २४ गतेसम्म १ हजार ग्राहकको घरमा धारा जडान गरिएको खानेपानी संस्थान वीरगञ्जका प्रमुख इन्जिनियर निरण महर्जनले जानकारी दिए । यस्तै महानगरपालिकाको कार्यालयले खानेपानीको महसुल तिर्ने गरी विभिन्न वडामा १ सय ५० स्थानमा सामुदायिक धारा जडान गरिएको पनि उनले बताए ।
लामो समयदेखि वर्षा नहुँदा वीरगञ्जका विभिन्न स्थानमा गत वैशाखदेखि खानेपानीको समस्या क्रमशः बढ्दै गएपछि धारा जडान गराउनेको सङ्ख्या पनि बढ्दै गएको प्रमुख महर्जनले बताए । उनका अनुसार अहिले दैनिक ५०/६० जना धारा जडानका लागि निवेदन लिएर कार्यालय आउने गरेका छन् । चापाकल, कुवालगायतका खानेपानीको मुहान सक्न थालेपछि धारा जडान गराउने क्रम बढेको उनको भनाइ थियो ।
“पहिला चापाकलबाट पानी आउँथ्यो, त्यति बेला खानेपानी संस्थानको धारा जडानका लागि लिन स्थानीयले खासै रुचि देखाउँदैनथे,” उनले भने, “तर अहिले चापाकल, कुवालगायतका खानेपानीको स्रोत सुक्न थालेपछि संस्थानको धारा जडानका लागि आउने ग्राहकको सङ्ख्या ह्वात्तै बढेको छ ।”
संस्थानले दैनिक ६०देखि ६५ लाख लिटरसम्म खानेपानी उत्पादन गरी महानगरभित्र वितरण गर्दै आइएको बताउँदै महर्जनले संस्थानसँग १० हजार घरधुरीलाई खानेपानी वितरण गर्ने क्षमता रहेको जानकारी पनि दिए ।