वीरगञ्ज । पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य अजय चौरसियाले वीरगञ्जस्थित नारायणी अस्पतालमा बिरामीको शल्यक्रिया (अप्रेसन) पनि निःशुल्क गराउने घोषणा गरेका छन् ।
वीरगञ्जमा बिहीबार आयोजित नेपाली काङ्ग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै काङ्ग्रेसको केन्द्रीय सदस्यसमेत रहेका चौरसियाले यस्तो घोषणा गरेका हुन् ।
सांसद चौरसियाले नारायणी अस्पतालमा उपचारका लागि आउने पर्सा जिल्लाको बिरामीको शल्यक्रियासमेत निःशुल्क गराउनका लागि आफू लागिरहेको बताए । उनले भने, ‘यसका लागि मैले स्वास्थ्य मन्त्रीसँग कुरा गरिसकेको छु । यदि स्वास्थ्य मन्त्रालयले मानेन भने म आफ्नो संसदीय विकास कोषबाट एकदेखि डेढ करोड रुपैयाँ नारायणी अस्पताललाई दिन्छु ।’
सांसद चौरसियाले पर्साको विन्दवासिनीमा वृद्धा आश्रम र अनाथ बालबालिकाको लागि सुविधा सम्पन्न विद्यालय निर्माणका लागि पनि आफूले प्रक्रिया थालिसकेको जानकारी गराए । यस्तै क्षेत्र नम्बर २ का दुई स्थानमा २५ शय्याको अस्पताल निर्माण गर्ने आफ्नो योजनाका बारेमा पनि उनले सुनाए ।
पर्सा जिल्ला र समग्र मधेसका जनताको समस्याका बारेमा आफूले संसद् मार्फत पटक–पटक आवाज उठाउँदै आएको पनि उनले बताए ।
एक फरक प्रसङ्गमा बोल्दै चौरसियाले वर्तमान सरकार काङ्ग्रेसलाई बदनाम र कमजोर बनाउने षडयन्त्र गरिरहेको आरोप लगाए । भ्रष्टाचारको फाइल खोल्ने बहनामा सरकारले काङ्ग्रेसका नेताहरूलाई छानिछानी झुटा मुद्दा लगाएर थुन्ने काम गरिरहेको उनको भनाई थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न नै नरहेका काङ्ग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई झुटा आरोप लगाएर सरकारले फसाइएको उनले बताए ।
काङ्ग्रेसका क्षेत्रीय सभापति मोहम्मद शाहाबुद्धीनको अध्यक्षता र काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवको प्रमुख आतिथ्ययतामा भएको सम्मेलनलाई मधेस सरकार पूर्व मन्त्री ओमप्रकाश शर्मा, काङ्ग्रेसका जिल्ला सभापति एवम् प्रदेशसभा सदस्य जनार्दनसिंह क्षेत्री, प्रदेशसभा सदस्य श्याम पटेल, काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमलगायतका नेताले पनि सम्बोधन गरेका थिए ।