वीरगन्ज महानगरपालिकाको कार्यालयले वीरगन्ज १० स्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गर्न सिफारिस गरेको छ ।
लामो समयदेखि बचतकर्ताहरूको निक्षेप फिर्ता गर्न असक्षम सानो पाइला सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै वीरगन्ज महानगरपालिकाले सहकारीसहित वर्तमान, पूर्व सञ्चालक तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरूमाथि कारबाही गर्दै उनीहरूको सम्पत्ति रोक्का गर्न समेत सिफारिस गरेको हो ।
सोमबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्रलेख्दै वीरगन्ज महानगरपालिकाले उक्त सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको महानगर स्रोतले जनाएको छ । ‘सहकारीलाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्नुका साथै महानगरले सञ्चालकहरूको सम्पत्ति रोका गर्नका लागि नेपाल राष्ट्र बैङ्कलाई समेत पत्र लेखेको छ,’ महानगर स्रोतले भन्यो, ‘सहकारीका पूर्व सञ्चालक, वर्तमान सञ्चालक र लेखा सुपरिवेक्षण समितिका सदस्यहरू समेतको चल–अचल सम्पत्ति रोका गर्न पनि सोमबार नै महानगरले राष्ट्र बैङ्कलाई समेत पत्राचार गरेको छ ।’
त्यसैगरी महानगरपालिकाले सहकारी विभागलाई समेत सानो पाइलालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरिएको भन्ने जानकारी गराएको छ ।
महानगरले सहकारीका सञ्चालक, पूर्व सञ्चालक र पूर्व तथा वर्तमान लेखा सुपरिवेक्षण समितिका सदस्यहरूमाथि आवश्यक अनुसन्धान गर्दै कारबाही प्रक्रिया अगाडि बढाउन केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) लाई समेत पत्र लेखेको स्रोतको दाबी छ ।
वर्तमान अवस्थामा सहकारीको सञ्चालक समितिका अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, सचिव देवेन्द्र बाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सदस्यहरू अशोक यादव, थान बहादुर बुढा मगर र धिरज दासमाथि अनुसन्धान गर्दै कारबाही प्रक्रिया अगाडि बढाउन सीआइबीलाई सिफारिस गरिएको छ । त्यस्तै पूर्व सञ्चालक समितिकी उपाध्यक्ष नेहा पौडेल, सचिव तस्विरन मियाँ, कोषाध्यक्ष सृष्टि मानन्धर र सदस्य देवेन्द्र बाबु राईमाथि पनि अनुसन्धान गर्दै कारबाही अगाडि बढाउन सिफारिस गरेको स्रोतको भनाई छ ।
सानो पाइलाले सहकारी जन्य ठगी गरेको पाएपछि समस्याग्रस्त घोषणा गर्न सिफारिस गर्दै कारबाही र सम्पत्ति रोकाका लागि सिफारिस गरिएको बुझिएको छ । सहकारी जन्य कसुर गरी संस्थाका सदस्यहरूको बचत रकम फिर्ता नगरेको, शेयर सदस्यहरूको हित विपरीत क्रियाकलाप गरी करिब एक अर्ब रुपैयाँ हिनामिना गरी आफू र आफ्ना आफन्तका नाममा सम्पत्ति लुकाई सहकारी संस्थालाई अन्य संस्थासँग एकीकरण गर्ने, बचतकर्ताहरूको बचत रकम फिर्ता नगर्ने मनसायले आर्थिक कारोबार गरेको देखिएकोले सानो पाइलाका सञ्चालक तथा पदाधिकारीहरू उपर छानबिन गरी कारबाहीका लागि आवश्यक कागजातहरूसहित सिफारिस गरिएको महानगर स्रोतले जनाएको छ ।