समाजवादी मोर्चा नेपालका शीर्ष नेताहरुले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानलाई जोगाउनकै लागि समाजवादी मोर्चा गठन गरिएको बताएका छन् ।
शुक्रबार वीरगन्जमा आयोजित समाजवादी मोर्चाको मधेस प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै मोर्चाका शीर्ष नेताहरुले अहिलेपनि गणतन्त्र र संविधानमा माथि प्रथिगामी शक्तिहरुबाट प्रहार भइरहेकाले जोगाउनका लागि मोर्चा बनाउनु परेको बताएका हुन् ।
यसका साथै मुलुकमा सुशासनको प्रत्याभूती र आर्थिक विकाससंगै समाजवाद स्थापनाका लागिपनि मोर्चा बनाइएको उनिहरुले बताए ।उनिहरुले विद्यमान राजनीतिक र आर्थिक अस्थिरता लगायतका समस्याबाट मुलुकलाई यहि मोर्चाले उन्मुक्ति दिलाउने जिकिरपनि गरे ।
सन्देश सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगतमा भएका राजनीतिक आन्दोलनहरुबाट प्राप्त भएका उपलब्धीहरु सिध्याउन संविधान र गाण्तन्त्रमाथि प्रतिगामीहरुबाट प्रहार भइरहेको बताए ।
उनले भने,‘ जनयुद्ध, जनआन्दोलन , मधेस विद्रोहलाई बदनाम गर्न प्रतिगामीहरु पहिलेको भन्दा १० गुणा बढी तागत लगाएर गणतन्त्र, संीवधान र संघीयतामाथि प्रहार गरिरहेका छन् । त्यसबाट जोगाउन पुरानै विचार र ढंगले सम्भव भएन ।त्यसका कारण नयाँ विचारसहितको समाजवादी मोर्चा बनाउनु परेको हो ।
मुलुकमा फेरि निरंकुशता लाद्ने र प्रतिगमन फर्काउन चाहनेहरुमाथि समाजवादी मोर्चाले सडक , सदन र सरकार तीनवटै ठाँउबाट एकैसाथ हमला गर्ने उनले बताए ।समाजवादी मोर्चालाई बलियो बनाएर अगाडि बढेमा मुलुकमा यसको विकल्प कोहिपनि बन्न नसक्ने जिकिरपनि उनले गरे ।
प्रधानमन्त्री प्रचण्डले भने,‘ अहिलेकै गठबन्धन सरकार र यो मोर्चाले मुलुकमा अब केहि गर्न सक्छ भन्ने आशा जनतामा छ । त्यस कारण यो गठबन्धनको सरकार र मोर्चालाई भत्काउन प्रतिगामीहरु धुप बालेर हिडेका छन् ।तर गठबन्धनको यो सरकार पुरा पाँच वर्ष सम्मै टिक्ने दाबी उनले गरे ।
उनले जनताको पक्षमा राम्रो काम गर्दै आएको र आगामी दिनमा पनि जनताकै मुद्दामा केन्द्रित रहने जिकिर गरे। उनले भने,‘ मलाई अब राम्रो बाहेक अन्य गर्नु छैन। जीवनको उत्तरार्द्धमा राम्रो काम गरेर नेपाली जनताले सम्झने लायक काम गर्ने विचार छ । अब ढुक्कसँग मर्ने मात्रै रहर छ ।’
प्रधानमन्त्री प्रचण्डले मधेसको विकास र समृद्धिमा आफनो मुख्य ध्यान रहेको बताए ।उनले भने,‘ मधेस र कर्णाली प्रदेशको विकास र समृद्धि बिना नेपाल समृद्ध हुन सक्दैन ।त्यसका कारण यो कार्यकालमै यी दुई प्रदेश समृद्ध र विकसित बनाउने मेरो सोच छ ।
उनले आफ्नो नेतृत्वमा सरकार बनेदेखि सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा उल्लेखनीय काम भएको दावी गरे ।यिनै विषय नै सरकारको मुख्य एजेण्डा रहेकोपनि उनले बताए।
सभालाई सम्बोधन गर्दै मोर्चाका संयोजक समेत रहेका नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गणतन्त्र, संविधान र संघीयता लगायतका उपलब्धीलाई जोगाउनकै लागि मोर्चा बनाइएको बताए ।उनले भने,‘ गणतन्त्र र संविधानमाथिको खतरा अहिलेपनि कायमै छन् ।अहिलेपनि टरिसकेको छैन । त्यहि खतराबाट जोगाएर गणतन्त्र र संविधानलाई संस्थागत गर्नका लागि समाजवादी मोर्चा बनाइएको हो । साथै मुलुकलाई समाजवादको बाटोमा अगाडि बढाउने लक्ष्यपनि मोर्चाको रहेको उनले बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले गठबन्धनको यो सरकार पाँच वर्षसम्मै टिक्ने दाबीपपनि गरे । उनले भने,‘ कांग्रेसपनि यो मोर्चा निर्माणको पक्षमा थियो । उसकोपनि सल्लाहमा मोर्चा बनाइएको हो । त्यसका कारण यो गठबन्धन र सरकार पाँच वर्षसम्मै टिक्छ । कुनै शंका गर्नु पर्दैन ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले गणतन्त्र, संविधान र संंघीयतालाई प्रतिगामीहरुबाट जोगाएर संस्थागतगरि प्रभावकारी कार्यान्वयनका लागि समाजवादी मोर्चा बनाइएको बताए ।
उनले भने,‘ जनयुद्ध र मधेस आन्दोलनबाट प्राप्त भएका उपलब्धिहरू अहिले खतरामा छन् । गणतन्त्र र संघीयता विरोधी तत्वहरु सल्बलाइरहेका छन् । त्यसका कारण उनिहरुबाट गणतन्त्र , संविधान र संघीयतालाई जोगाउनकै लागि यो मोर्चा बनाइएको हो । यससंगै मुलुकमा आर्थिक विकास , सुशासन र समाजवाद स्थापनापनि मोर्चा गठन गर्नुको उदेश्य रहेको उनले बताए ।
यादवले भने,‘ संविधान जारी भएको आठ वर्ष बिते पनि संघीयता संस्थागत हुन सकेको छैन ।संघीयता कार्यान्वयनका लागि ८ वर्षमा ८ वटा काुननपनि बन्न सकेनन् । त्यसका कारण संविधान संशोधन हुनुपर्छ ।उनले मुलुकमा गणतन्त्र घोषणा भएको १५ वर्ष बितिसक्दापनि गणतन्त्रपनि संस्थागत हुन नसकेको बताए।
यादवले भने,‘ नेपालमा गणतन्त्र स्थापना भएको १५ वर्ष भयो। तर संघीय गणतन्त्र अझै मजबुत हुन सकेको छैन। संविधान जारी भएको ८ वर्षमा पनि संघीयतालाई मजबुत गर्न सकेन। ८ वर्षमा ८ वटा कानुन पनि बन्न सकेको छैन,’ उनले भने। उनले संविधानमा धेरै त्रुटि भएकै कारण ८ वर्षमा पनि संघीयता कार्यान्वयन हुन नसकेको बताए। गणतन्त्र स्थापना भएको १५ वर्षमा १५ वटा उद्योग पनि स्थापना हुन नसकेकोप्रति दुःख व्यक्त गरे।
उनले मधेसमा प्रदेश सरकार भए पनि आफ्नै प्रहरी, प्रशासन, कर्मचारी र न्यायालय नभएको बताए। गाडी र झण्डा दिँदैमा सरकार पाए भनेर खुसी हुनुपर्ने आवश्यकता नरहेको उनको भनाइ छ।
’प्रदेश सरकार त छ। तर न प्रहरी छ, न प्रशासन छ, न कर्मचारी छ, न न्यायालय छ, न स्रोतमा अधिकार छ। अनि कस्तो सरकार हो। यो हालत छ प्रदेशको। आज पनि प्रहरी समायोजन भएको छैन। मधेस प्रदेश छ, प्रहरी अर्कैको छ। मधेस प्रदेशको प्रहरी कहिले हुन्छ? मधेसको कर्मचारी कहिले हुन्छ?,’ उनले प्रश्न गरे।
उनले ५३ प्रतिशत जनता रहेको मधेसलाई राज्यले उपेक्षा गरेको बताए। ’५३ प्रतिशत जनता मधेसमा छन्। तर १३ प्रतिशत बजेटमात्र मधेसलाई दिइएको छ। १३ प्रतिशतले विकास सम्भव छ?,’ उनले प्रश्न गरे।
सभालाई सम्बोधन गर्दै नेकपा माओवादीका महासचिव नेत्रबिक्रम चन्द विप्लवले मुलुकमा समाजवाद स्थापना हुनुपर्ने जनताको चाहहना पुरा गर्नका लागि मोर्चा बनाइएको बताए ।विप्लवले भने,‘ गणतन्त्र आएको १५ वर्ष भयो तर नेपाली जनताले चाहेको समाजवादसहितको परिवर्त भने आउन सकेन । त्यसैका कारण अहिलेको शासन व्यवस्था प्रति देशभरकै जनताको असन्तुष्टि र आक्रोश छ ।
दलाल पूँजीवाद अन्त्यका लागि नेपालमा अब अन्तिम विद्रोहको आवश्यकता रहेकोपनि उनले बताए । उनले भने,‘ त्यो अन्तिम विद्रोह अब यहि समाजवादी मोर्चाबाट मात्रै सम्भव छ । जसमा मधेसकोपनि साथ चाहिन्छ ।
सन्देश सभामा समाजवादी मोर्चा नेपालको प्रदेश स्तरीय मधेस प्रदेश समाजवादी मोर्चा घोषणापनि गगरियो । १२ सदस्यिय उक्त समितिमा नेकपा माअेवादी केन्द्र , नेकपा एकिकृत समाजवादी , जनता समाजवादी पार्टी र नेकपा माओवादीका गरी ३÷३ जना नेता छन् ।MADHESH KHABAR