वीरगंज । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिकाको वीर्तास्थित बाल सुधार गृहमा रहेका बालकहरुबिच झडप हुदाँ ११ जना घाइते भएका छन् । उनिहरुले प्रहार गरेको ढुङगाले लागेर तीन जना प्रहरी पनि घाइते भएका छन् ।
वीरगन्जको बाल सुधार गृहमा तीन हप्ता पहिले भक्तपुरको बाल गृहबाट हुहल्ला गरेका बालबालिकालाई बाल सुधार गृहबाट ल्याइएका १८ जना र विरगंजको बाल गृहमा पहिलेदेखि बस्दै आएका बालकहरुबिच मंगलबार राति विवाद भई झडप हुदाँ सुधारगृह रातभर तनावग्रस्त रहेको थियो ।
झडपमा भक्तपुरबाट ल्याइएका मध्ये १० समेत गरी ११ जना बालक र तीन जना प्रहरी घाइते भएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए । घाइते भएका सुधार गृहका ११ जना बालकलाई मंगलबार राति नारायणी अस्पतालमा उपचार गराई जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको प्रहरी उपरीक्षक शाहले बताए ।
प्रहरी उपरीक्षक शाहका अनुसार , भक्तपुरको बाल सुधार गृहमा भदौं ४ मा उत्पात मच्चाएकामध्ये १८ जना बालकहरुलाई वीरगन्जको बालसुधार गृहमा ल्याएर राखिएको थियो । यहाँ पहिलेदेखि १३१ जना बालक थिए । सुधार गृहमा अहिले कूल १४९ जना बालकहरु रहेको गृह प्रमुख टिका काफलेले जानकारी दिए ।
भक्तपुरबाट ल्याएर राखिएका बालकहरुले मंगलबार बेलुकी सुधार गृहका नाइकेसंग विवाद गरेर कुटपिट गरेपछि त्यहि विषयमा यहाँपहिले देखि रहेका र भक्तपुरबाट ल्याएर राखिएका बालकहरुबिच विवाद भइ झडप भएको हो । त्यसक्रममा उनिहरुले सुधार गृहभित्र तोडफोड गरेपछि स्थिती नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा सुधार गृहमा पुगेको थियो ।
तर सुधार गृह भित्रबाट बालकहरुले ढुङ्गामुढा गरेर प्रहरीलाई अबेररातिसम्मपनि सुधार गृह भित्र छिर्न दिएनन् । त्यसैक्रममा ढुङगाले लागेर तीन जना प्रहरीपनि घाइते भएको प्रहरी उपरीक्षक शाहले बताए । स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरीले पाँच राउण्ड अश्रु ग्याँसपनि प्रहार गरेको थियो ।
बुधबार बिहानसम्म पनि प्रहरीलाई सुधार गृहभित्र भित्ररहेका बालकहरुले प्रवेश गर्न नदिएको त्यहाँ खटिएका पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए । उनले भने,‘ मंगलबार रातिको भन्दा अहिले स्थिती केहि सामान्य छ , तर भित्र उनिहरुले अहिलेपनि होहल्ला गरि नै रहेका छन् ।
बाल सुधार गृहका प्रमुख टिका काफलेका अनुसार, एक महिना पहिले भक्तपुरको बाल सुधार गृहमा उत्पात मच्चाएका मध्ये १८ जना बालकलाई वीरगन्जको बाल सुधार गृहमा ल्याएर राखिएको थियो । तर उनिहरुले यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए। त्यहि विषयलाई लिएर उनिहरुले मंगलबार बेलुकी सुधार गृहका नाइकेसंग विवाद गरी कुटपिट गरेपछि सुधार गृह तनावग्रस्त बनेको प्रहरी उपरीक्षक शाहले बताए ।
सुधार गृहमा मंगलबार रातिदेखि प्रदर्शन गरिरहेका बालकहरुले भने सुधारगृहमा आफुहरुलाई खाना राम्रो नदिएको , घरमा फोन गर्दा एक कलको १ सय रुपैयाँ लिने गरिएको , एउटै कोठामा धेरै जनालाइ कोचेर राखिएको , शौचालयपनि राम्रो नभएको , सुधार गृह प्रमुखले यातना दिदै आएको जस्ता आरोप पनि लगाएका छन् ।
प्रहरी उपरीक्षक शाहले सुधार गृहभित्रको स्थिती सामान्य बनाउन प्रयास गरिरहेको र बुधबार दिउँसो प्रमुख जिल्ला अधिकारीसहित आफुहरु पुगेर त्यहा प्रदर्शनमा रहेका बालकहरुसंग संवाद गरेर समस्या समाधानको पहल गरिने बताए ।