मधेस प्रदेशका प्रदेश सभा सदस्यहरुले नेपालमा भएका हरेक राजनीतिक आन्दोलनमा सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमीका अग्रपंक्तीमा रहेको बताएका छन् । तर सञ्चारमाध्यम र सञ्चारकर्मीलाई अधिकार सम्पन्न बनाउने सवालमा सरकार र राजनीतिक दलहरुले अंकुश लगाउने गरेकाले यो दुखद भएकोपनि उनिहरुले बताएका छन् ।
मधेस प्रदेशको सञ्चार नीति निर्माणका लागि सुझाव संकलनका लागि आइतबार वीरगन्ज द एशिया फाउन्डेशनले आयोजना गरेको छलफलमा बोल्दै प्रदेश सभा सदस्यहरुले यस्तो बताएका हुन् । प्रदेश सभा सदस्य श्याम पटेलले नेपालमा हरेक राजनीतिक आन्दोलनमा मिडियाको भूमीका अग्रपंक्तीमा रहेको बताए । ‘ यदि मिडिया हुन्थेन र पत्रकारले साथ दिदैनथे भने कुनैपनि आन्दोलन सफल हुदैनथ्यो । तर पत्रकारलाई अधिकार दिने बेला भने सरकार र राजनीतिक दलले अंकुश लगाउछन् ।जुन निक्कै दुखद हो ।’
लोकतन्त्र अहिले फेरि खतरामा परेको टिप्पणी गर्दै पटेलले भने,‘ लोकतन्त्रलाई बचाउन फेरि आन्दोलन गर्नुपर्ने अवस्था आउँदै छ । त्यस बेला फेरि मिडियाको आवश्यकता पर्छ ।
मधेस प्रदेशमा सञ्चारमैत्री मिडिया विधेयक ल्याउन प्रदेश सभामा आफनो सशक्त भूमीका रहने वाचापनि उनले गरे ।
अर्का प्रदेश सभा सदस्य प्रमोद जयसवालले मिडिया र मिडियाकर्मी मजबुत भएमात्र लोकतन्त्रपनि मजबुत हुने बताए । उनले भने,‘ मिडिया मजबुत भएमात्र नागरिक समाज मजबुत हुनसक्छ । नागरिक समाज मजबुत भएमात्र लोकतन्त्रपनि मजबुत हुनसक्छ ।’
मधेसको मिडिया क्षेत्रलाई सशक्त बनाउन मधेस प्रदेश सरकारको प्रयासमा कमी देखिएको टिप्पणी उनले गरे । उनले भने,‘ अहिले मधेसका मिडिया र मिडियाकर्मी आर्थिक संकटमा छन् । जुन हामी राजनीतिककर्मीका लागिपनि दुखद कुरा हो । यसलाई मधेस प्रदेश सरकारले गम्भिरताकासाथ लिनुपर्ने उनले बताए ।
उनले सञ्चारकर्मीपनि स्वतन्त्र हुनुपर्नेमा जोड दिए ।उनले भने,‘ पत्रकार वा मिडिया हाउस कुनैपनि दलको मुखपत्र वा भातृसंगठन जस्तो बन्नु हुदैन । स्वतन्त्र र निष्पक्ष पत्रकारीता पत्रकारले गर्नुपर्छ ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु विणा शर्मा र लक्ष्मीदेवीलेपनि सञ्चारमैत्री मिडिया विधेयक निर्माणका लागि आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा आम सञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव , मधेस मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास , नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष राजेश कर्ण , नेपाल पत्रकार महासंघ पर्सा शाखका अध्यक्ष अनुप तिवारीले आ आफना सुझाव दिए ।कार्यक्रममा पर्सा र बाराका गरि करिब ३० भन्दा बढी पत्रकारहरुको सहभागीता थियो ।