वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिका – ३ बढनिहारस्थित श्री जनता माध्यमिक विद्यालय प्राविधिक शिक्षालयमा सञ्चालित व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि (इभेन्ट परियोजना) – दोस्रोमा व्यापक अनियमितता भएको आरोप लागेको छ ।
नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रणालीको सुदृढीकरण गर्नुका साथै महिला, दलित, सीमान्तकृत जनजाति, अपाङ्गता भएका व्यक्तिसम्म गुणस्तरयुक्त तालिमको पहुँच वृद्धि गरी सीपयुक्त र रोजगारका लागि उपयुक्त जनशक्तिको आपूर्ति बढाउने उद्देश्यका साथ नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत रहेको इभेन्ट परियोजनामा जनता माध्यमिक प्राविधिक शिक्षालयमा व्यापक अनियमितता भएको आरोप लागेको हो ।
इभेन्ट परियोजना मार्फत जनता माध्यमिक प्राविधिक शिक्षालयले विभिन्न चरणमा प्राप्त गरेको झन्डै एक करोड २० लाख रुपैयाँमध्ये अधिकांश विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक र शिक्षालयका संयोजकले खर्चे नगरी नक्कली बिल, भरपाई पेस गरेर भ्रष्टाचार र अनियमितता गरेको व्यवस्थापन र अभिभावक शिक्षक समितिका सदस्यहरूले आरोप लाएका छन् ।
विद्यालय व्यवस्थापन समितिकी सदस्य जानकी देवीका अनुसार इभेन्ट परियोजना – दोस्रो मार्फत विद्यालयले प्राप्त गरेको तेस्रो किस्ताको अनुदान रकममा सबैभन्दा धेरै अनियमितता भएको छ । तेस्रो किस्तामा विद्यालयले आर्थिक वर्ष २०७९/८० मा ६० लाखभन्दा बढी रकम प्राप्त गरेको थियो । विद्यालयमा चलिरहेको प्राविधिक कक्षा सञ्चालनका निमित्त आवश्यक पर्ने मेसिनरी तथा उपकरण खरिद, आवश्यक पूर्वाधार निर्माण, शैक्षिक भ्रमणलगायतका लागि रकम प्राप्त गरे पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीले अनावश्यक खर्च गर्दै रकम सकाएको जानकी देवीले आरोप लगाइन ।
समितिका अध्यक्ष रामायण चौधरीले विद्यालयका प्रधानाध्यापक मोहन चौधरी र शिक्षालयका संयोजक ताकेश्वर यादवसँग मिलेर रकम खर्चे नगरी बिल भरपाई मात्र पेस गरेको जानकी देवीले बताइन । समितिको बैठक समेत नगरी एकलौटी निर्णय गर्दै रकमहरू खर्च भएको उनको कथन छ ।
‘हामीसँग समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकले कुनै सरसल्लाह गरेका छैनन् । आफै जहाँ मन लाग्यो त्यहाँ पैसा खर्च गरेका छन् । थोरैको काम गराएर बढीको भुक्तानी देखाएका छन्,’ जानकी देवीले भनिन्, ‘भएको काम पनि गुणस्तरहीन छ ।’
शिक्षालयमा पढाउने ६ जना शिक्षकका लागि पोसाक खरिदमा समितिले झन्डै तिन लाख रुपैयाँ खर्च गरेको उनले बताइन । ‘हामीलाई बैठकमा बोलाउँदैनन् । घरमा माइन्यूट ल्याएर हस्ताक्षर गर्न लगाउँछन् । शिक्षकको पोसाक खरिदमा त्यत्रो रकम खर्च कसरी भयो भनेर प्रश्न गर्दा उनीहरूले गोलमटोल जवाफ फर्काउने गरेका छन्,’ जानकी देवीले भनिन् । माइन्यूटमा हस्ताक्षर गर्न नमानेको खण्डमा समितिका अध्यक्ष रामायण चौधरी र विद्यालयका प्रधानाध्यापक मोहन चौधरीले पैसाको प्रलोभन समेत दिने गरेको उनले बताइन ।
त्यस्तै विद्यार्थीहरूलाई लागिएको शैक्षिक भ्रमणमा कम खर्च भए पनि बढी देखाइएको जानकी देवीले बताइन । ‘शैक्षिक भ्रमणको नाममा एक दिनको लागि पोखरा लगेर साढे ७ लाख रुपैयाँ खर्च देखाएका छन्,’ उनले भनिन्, ‘त्यो शैक्षिक भ्रमण पनि थिएन । एक छिनको लागि फेवा ताल घुमाएर फोटो खिचेर मात्रै फर्काए । २०-२२ जनालाई एक दिन पोखरा घुमाउन साढे ७ लाख रुपैयाँ खर्च भएको देखाएका छन् । म स्वयम् त्यो भ्रमणमा थिएँ, त्यस्तो खर्च भएको कहीँ पनि देखिन् ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरीले इभेन्ट परियोजनामा कुनै अनियमितता नभएको दाबी गरे । उनले आफूसँग सबै खर्चको बिल भरपाई रहेको दाबी गर्दै भने, ‘सबै काम भएको छ । कहीँ पनि गल्ती छैन । जहाँ जति खर्च लागेको छ त्यति मात्र देखाइएको छ । बढी देखाउने काम भएको छैन ।’ अनियमितता गरेको प्रमाणित गरे आफूले जस्तो सुकै सजाय भोग्न तयार रहेको बताए ।
यद्यपि रामायण चौधरीको दाबीलाई समर्थन गर्ने आधारहरू देखिँदैनन् । ६ जना शिक्षकको पोसाक खरिदका लागि ३ लाख रुपैयाँ खर्चको औचित्य पुष्टि गर्न नसकिने अभिभावक वीरेन्द्र चौधरीले बताए । ‘कुन ब्रान्डको कपडा खरिद गरेका होलान् ? नेपाल सरकारले बनाएको मापदण्ड बाहिर गएर पक्कै पनि खरिद गर्न मिल्दैन, तर त्यहाँ एउटा शिक्षकको लागि पोसाक खरिद गर्न झन्डै ५० हजार रुपैयाँ खर्च गरेको देखियो । यसको औचित्य पुष्टि कसरी गर्ने ?,’ वीरेन्द्र चौधरीले प्रश्न गरे ।
अभिभावक शिक्षक समितिका अध्यक्ष नन्दलाल चौधरीले पनि इभेन्ट परियोजनाअन्तर्गत भएका कामहरू गुणस्तरहीन भएको बताए । उनले पनि कम खर्च भएको कामको बढी देखाएर भुक्तानी गरिएको बताए ।
नन्दलाल चौधरीले एक वर्षदेखि विद्यालयमा अभिभावक शिक्षक समितिको बैठक समेत नबसेको बताए । व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पटक–पटक आग्रह गर्दा पनि उनीहरूले बैठक नबोलाएको उनको गुनासो छ । ‘विद्यालयमा कस्तो परियोजनाहरू सञ्चालन हुँदै छन् ?, के कति खर्च भयो ?, कस्तो काम भयो ? हामीले सबै जाने अधिकार छ,’ उनले भने, ‘यसका लागि बैठक बोलाउन आग्रह गर्दा अध्यक्ष र प्रधानाध्यापके आलटाल गर्छन् । म अभिभावक समितिको अध्यक्ष बनेदेखि एउटा बैठक पनि बसेको छैन ।’
अनियमिततामा मेयरको मौन समर्थन
पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठनले जनता माध्यमिक विद्यालयमा सञ्चालित इभेन्ट परियोजना बारे आफूलाई कुनै जानकारी नभएको बताए । परियोजनाले नगरपालिकासँग कुनै समन्वय नै नगरी सोझै विद्यालयमा पैसा पठाएकोले आफूलाई यस विषयमा कुनै जानकारी नभएको उनको भनाई छ ।
यद्यपि स्थानीयहरूले गरेको गुनासोको आधारमा अध्ययन गर्नका आफूले विद्यालयबाट फाइलहरू मगाएको उनले बताए । अहिले अध्ययन गर्ने क्रममै रहेकोले केही भन्न नसकिने उनको कथन छ ।
यद्यपि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामायण चौधरी र मेयर एउटैमा आबद्ध भएको कारण उनले कुनै कारबाही नगरेको स्थानीयहरूको आरोप छ । ‘हामीले सप्रमाण कयौँ पटक मेयरको ध्यानाकर्षण गराएका छौँ । तर उहाँले कुनै कारबाही गर्नु हुँदैन । रामायण चौधरी नेकपा एमालेमै आबद्ध भएको कारण उनको यस अनियमिततामा मौन समर्थन छ,’ स्थानीय लक्ष्मण महतोले भने ।
अनियमितता बारे गुनासो आएकै छैन
इभेन्ट परियोजनामा सूचना अधिकारी शिव राज पोखरेलले जनता माध्यमिक विद्यालयको विषयमा अनियमितता भएको विषयमा आफूहरू कहाँ गुनासो नआएको बताए । गुनासो नै नआएपछि कारबाही गर्न नसकिने उनको भनाई छ ।