वीरगन्ज । पत्रकारिताको नाममा सामाजिक सञ्जाल फेसबुकमार्फत जथाभावी लेख्ने तथा भिडियो कलमा अपशब्द बोल्दै आएका हलेँसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका मनोज गिरी पक्राउ परेका छन्।
किर्ते कागजात पेस गरी हलेँसीपाटी डटकम नामको अनलाइन दर्ता गरे पनि उक्त अनलाइनमा समाचार नलेखी आफ्नो व्यक्तिगत फेसबुक पेजमार्फत जथाभावी स्टाटस लेखेर तथा भिडियो कलमार्फत अपशब्द बोलेर सामाजिक सद्भाव भड्काउनुका साथै व्यक्तिको चरित्र हत्या गर्नेजस्ता गतिविधि गर्दै आएका गिरीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।
विद्युतीय अपराध गरेको आरापमा स्थानीय एलोन राईले गत १९ भदौमा दिएको जाहेरीको आधारमा गिरीलाई काठमाडौंमा लुकीछिपी बसेको अवस्थामा धापाखेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।
गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत गत साउन–२० गते एकल महिलामाथि आँच आउने किसिमको स्टाटस लेखेर महिलाहरूको मानमर्दन गरेको भन्दै स्थानीय १८ वर्षीय राईले झन्डै महिना दिनपछि प्रहरीमा उजुरी दिएका थिए।
गिरीविरुद्ध राईले दिनुभएको उजुरी प्रहरीले चार दिनपछि भदौ–२२ गते दर्ता गरेर अदालतबाट पक्राउ पुर्जी लिएसँगै इलाका प्रहरी कार्यालय हलेँसीबाट पक्राउ गर्न प्रहरी टोली खटिए पनि आफन्तले प्रतिकार गर्दै संरक्षण गरेका थिए ।
आफन्तको रोहबरमा इलाका प्रहरी कार्यालय हलेँसीमा हाजिर हुने सर्तमा पक्राउ गर्न गएका प्रहरी टोलीबाट छुटेका गिरीले भदौ–२६ गते भागेर काठमाडौं पुगेका थिए। विद्युतीय कारोबार ऐन २०६३ अनुसार पक्राउ गरेका गिरीलाई तीन वर्षसम्म कैद सजाय तथा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
पक्राउपछि जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा रहेका गिरीले अर्काको शैक्षिक योग्यताको प्रमाणपत्र फोटोसपमार्फत आफ्नो नामको बनाएर हलेँसीपाटी डटकम नामको अनलाइन दर्ता गरी सञ्चालन गर्दै आएका छन्। गिरीले समाचारभन्दा पनि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर अधिकांश व्यक्तिलाई गाली गर्ने, होच्याउने, मानमर्दन गर्ने र ‘सबथोक मै हुँ’ भन्ने शैलीमा स्टाटस लेख्नेजस्ता गतिविधि गर्दै आएका थिए।
गिरीले जिल्लामा क्रियाशील अरू पत्रकारविरुद्ध ‘पार्टीको झोले’ भन्दै सामाजिक सञ्जाल फेसबुकमा तथानाम गाली लेख्ने गरेका थिए। गिरीले सोही स्थानका कुभेसचन्द्र गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र (स्नातक तहको प्रमाणपत्र)लाई फोटोसपमार्फत आफ्नो नामको बनाएर प्रयोग गरेकामा किर्ते जालसाजी मुद्दाअन्तर्गत जिल्ला अदालत खोटाङबाट वि.सं. २०७९ माघ–१९ गते दोषी ठहर भई २० दिन कैद र रु तीन हजार जरिवाना सजाय भोगिसकेका छन्।
गिरीले पत्रकारिताको गरिमामाथि आँच पुर्याएको भन्दै नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल खोटाङले गत भदौ–२० गते संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार आचारसंहिता पालना गर्न सचेत गराएको थियो।
गिरीले सामाजिक सञ्जालमा जथाभावी लेख्ने, अफवाह फैलाउने, अरूको मानमर्दन गर्ने, खेदो गर्ने, ‘म पत्रकार हुँ’ भन्दै थर्काउने, गालीगलौज गर्ने र बिनाअनुमति टेलिफोन संवाद रेकर्ड गरेर सामाजिक सञ्जाल फेसबुकमा राख्ने गरेकोप्रति पत्रकारसम्बद्ध संघ-संगठनहरूले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।