वीरगन्ज । वीरगंज ठोरी हुलाकी सडक खण्डमा पर्ने तिलावे पुल सञ्चालनमा आएको एक बर्ष नपुग्दै एप्रोच सडक भाँसिएको छ । ठेकेदारको लापरबाहीको कारण झण्डै सात वर्ष ढिलो गरी बनेको तिलावे पुलको एप्रोच भासिएपछि वीरगंज, पोखरीया तथा ठोरी आवत जावत गर्ने यात्रुहरूले पुरानै सास्ती खेप्न बाध्य भएका छन् ।
२०७२ साल जेष्ठ २५ गते ठेक्का सम्झौता भइ साढे ७ वर्षमा निर्माण भएको पर्साको विन्दवासिनीमा रहेको तिलाबे पुल १० महिना नपुग्दै भत्किन थालेको छ ।
नयाँ पुल सञ्चालनमा आएपछि राहत महसुस गर्दै खुशी भएका त्यस क्षेत्रका जनता सञ्चालनमा आएको १० महिना नबित्दै पुल भत्किन थालेपछि फेरि सडकजामको समस्या भोग्नुपर्ने होकी भनेर चिन्तित भएका छन् ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर सञ्जयकुमार ठाकुरले पुलको ‘एप्रोच सडक’ भाँसिएको र सडक भत्किएर खाल्डो पर्दा दुर्घटनाको जोखिम बढेको बताउनुभयो ।
‘हामीले भत्किएको एप्रोच सडक मर्मत गर्न आज पत्राचार गरेका छौं । आजै स्थलगत निरीक्षण गरी पुल निर्माणको ठेक्का लिएको पप्पु–लुम्बिनी जे.भी.लाई तीनदिन भित्रमा भासिएको सडक पुरी सञ्चालनमा ल्याउन भनेका छौं’ हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर ठाकुरले बताउनुभयो ।
तत्काल रिबन बाँधी भत्किएको क्षेत्रलाई घेर्न र भत्किएको एप्रोच सडक बनाउन तथा पुलको बीचमा जमेको पानीको निकासको व्यवस्था मिलाउन फोनमार्फत पप्पु–लुम्बिनी जे.भी.का सम्पर्क व्यक्ति विष्णुप्रसाद शर्मालाई भनिसकिएको बताउनुभयो । उहाँले सोही व्यहोराको पत्र लेखेर समेत पठाइएको जानकारी दिनुभयो ।
पुलको पश्चिमतर्फ करिब ४०–५० मिटर सडक कालोपत्रे गर्न बाँकी रहेकाले सो पनि सम्पन्न गर्न र धेरै अग्लो भएका कारणले माटो भासिई भत्किएको एप्रोच सडक यथाशिघ्र मर्मत गर्न हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले ठेकेदारलाई आग्रह गरेको छ ।
निर्माण सम्पन्न भएको पाँच वर्षसम्म निर्माणकर्ता ठेकेदारले नै मर्मत गर्नुपर्ने त्यसपछि मात्र मुल रकमको ५ प्रतिशत राखिएको धरौटी फिर्ता हुने व्यवस्था रहेको समेत हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सुचना अधिकारी इन्जिनियर ठाकुरले बताउनुभयो ।
पप्पु–लुम्बिनी जे.भी.ले २०७२ जेष्ठ २५ गते भ्याट सहित ८ करोड ७० लाख ७६ हजार ३ सय ३७ रुपियाँ २७ पैसामा ठेक्का सकार गरे पनि बीचमा चार पटक म्याद थप गर्दै २०७९ मंसिर २९ गते निर्माण सम्पन्न गरेको इन्जिनियर ठाकुरले जानकारी दिनुभयो ।
यसअघि करिब २ महिनाअघि पनि सो पुलको एप्रोच सडकको मुख्य सडक छेउमा र पुलको पश्चिमतर्फ केही स्थानमा सडक नै भासिएकोमा पत्राचार गरी मर्मत गर्न लगाएको अनुभव हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जका सूचना अधिकारी इन्जिनियर ठाकुरले सुनाउनुभयो ।
पुरानो पुलमा सधै ट्राफिक जाम हुने भएपछि केन्द्रीय बजेटमार्फत सरकारले नयाँ पुल बनाएको थियो भने दुई वटै पुलबाट आवागमन सुरुभएपछि घण्टौ लाग्ने जामबाट ग्रामीण भेगका आमजनताले मुक्ती पाएका थिए । तिलाबे पुल पर्साको सदरमुकाम वीरगञ्जलाई ग्रामीण क्षेत्रसँग जोड्ने प्रमुख पुल मानिन्छ ।