वीरगन्ज । पर्साको पोखरीया नगरपालिकामा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको भौतिक पूर्वाधारको अवस्था दयनीय बनेको छ । पोखरीया नगरपालिका वडा नम्बर ७ रानीगंजमा रहेको श्री नेपाल राष्ट्रिय प्रावि गोविन्दपुरको अवस्था अहिले डर लाग्दो भएको छ ।
उक्त विद्यालयको भौतिक संरचनाहरू जीर्ण अवस्थामा छन् वि. स . २०४१ सालमा स्थापना भएको विद्यालयलाई राम्रोसँग संरक्षण गर्न नसकेपछि भौतिक अवस्था अहिले हेर्न लायकको छैन । पोखरीया नगरपालिकाको रानीगंजमा रहेको यो विद्यालयको शुरुवाती चरणमा भौतिक संरचना राम्रो हुँदा विद्यार्थी संख्या उल्लेख्य भए पनि पछिल्लो समयमा भौतिक संरचना जीर्ण हुँदै गएपछि विद्यार्थीहरू बर्सेनि घटिरहेका छन् ।
वि. स. २०६३ सालमा ३६ लाखको बजेटमा बनेको नयाँ भवनको पनि समयमा मर्मत सम्भार नहुँदा जीर्ण अवस्थामा पुगेको छ । उक्त बेला ३६ लाखको बजेटमा बनाइएको भवन जस्तै अहिले बनाउन खोज्दा ८० लाख बराबरको बजेट लाग्ने एक प्राविधिकले बताए । वि . स. २०६३ सालमा बनेको भवन अपाङ्ग मैत्री पनि रहेको छ ।
वडा अध्यक्ष प्रमानन्द प्रसाद कुर्मीका उदासिनताका कारण विधायक भवनको अवस्था जीर्ण हुनु साथै विद्यार्थी संख्या घटेको स्थानियहरुले आरोप लगाएका छन् । उक्त विद्यालयमा अहिले १२५ देखि १५० सम्म दैनिक विद्यार्थीहरुको संख्या पुग्ने गरेकोमा बढी दलित विद्यार्थीहरुको संख्या रहेको छ ।
वडा अध्यक्ष कुर्मी निर्वाचित हुनु भन्दा अगाडी उक्त विद्यालय कै प्रधानाध्याक समेत रहेका थिए । विद्यालयको अवकाश प्राप्त पछि उनी चुनावमा होमिएका थिए । स्थानियहरुले शिकक्षित र पूर्व प्रधानध्यापक समेत रहेका कुर्मीलाई निर्वाचित गराए विद्यालयको अवस्था सुधार हुन्छ भनी निर्वाचित गराएका थिए तर आज अवस्था त्यसको ठीक विपरीत भएको छ ।
सुखी सम्पन्न परिवारका बालबालिकाहरू निजी विद्यालयमा गएपनि दलित परिवारका बालबालिकाहरू भत्किएका भौतिक संरचनामा नै डराएर अध्ययन गर्न बाध्य अवस्था रहेको स्थानीयको गुनासो छ । अहिले विद्यालयको भौतिक पूर्वााधार संरक्षण र सुधार हुन नसक्दा विद्यार्थीहरूले बाध्य भएर निजी विद्यालय रोज्ने गरेको पनि स्थानियहरु बताउँछन् । गुणस्तरीय शिक्षा र सेवा सुविधाको खोज्दै अभिभावकहरू निजी विद्यालय रोज्न थालेपछि विद्यालयको भौतिक संरचना जीर्ण बन्दै गएको एक शिक्षकले बताए ।
उनका अनुसार विद्यालयमा अहिले मर्मत सम्भार नहुँदा भौतिक संरचना सँगै फर्निचरको पनि अवस्था उस्तै छ । १ लाखको लागतमा फर्नीचर मर्मत हुन सक्ने सम्भावना रहेपनि वडा अध्यक्ष कुर्मीको लापरवाहीका कारण ५ लाख बराबरको फर्निचरका सामान जस्तै टेबल , कुर्सी , बेच्न , झ्याल र ढोका खराब हुँदै गएको छ ।
ममर्त सम्भारमा वडा अध्यक्ष कुर्मिलाई बढी कमिसन नआउने भएकोले मर्मत सम्भार तिर वहाँले ध्यान नदिएको नाम नखुलाउने शर्तमा एक स्थानियले ज्योती दैनिकलाई बताए ।
विद्यालय सुधारका लागि हालसम्म कुनै निकायले चासो नदेखाएको पनि उनी बताए । उनका अनुसार विद्यालयमा ५ कक्षासम्म पढाइ भए पनि भौतिक संरचना जीर्ण हुँदा र सामुदायिक विद्यालयमा नगरपालिकाले चासो नदिँदा जम्मा १५० जना विद्यार्थी मात्र रहेको बताए । स्थानीय सरकारसँग बारम्बार पहल गर्दासमेत विद्यालयको भौतिक प्रगति हुन नसकेको उनको भनाइ छ ।
उक्त विद्यालयका सबै भवनहरू भत्केर जीर्ण बनेका छन् । तर, मर्मत हुने छाँटकाँट देखिँदैन । आवश्यक सामग्रीहरू पनि विद्यालयमा पर्याप्त नरहेको उनीहरूको भनाइ छ । भवनमा पानी चुहिने र जम्ने , हावाहुरी चल्दा झ्यालको छानोहरू नै उडाउने जस्ता समस्या रहेको उनीहरू बताउँछन् । विद्यालयमा अहिले भौतिक पूर्वाधारको अभाव देखिएकाले गतिविधि पनि शून्यजस्तै रहेको स्थानीयको भनाइ छ ।
प्रधानध्यापक अकबर मियाँले मैले मर्मत सम्भारका लागि बारम्बार वडा कार्यालय लगायत सम्बन्धित निकायमा जानकारी सहित पहल गर्दा वडा कार्यालयबाट २ लाख बराबरको बजेट उपलब्ध गराइएको त्यसबाट सके जति मर्मत सम्भार गरिएको बाकी मर्मत सम्भारका लागि २ लाख बजेट आवश्कय रहेको बताए । साथै पानी जम्ने र चुहिने लगायतको मर्मत सम्भारको लागि १० लाख बराबरको बजेट आवश्कय रहेको पनि बताए ।
वडा अध्यक्ष कुर्मीले मैले मर्मत सम्भार लागि २ लाख बजेट उपलब्ध गराएपनि पूर्ण रूपमा मर्मत सम्भार हुन नसकेको बताए । साथै मैले त्यो भवन भत्काएर नयाँ भवनको लागि पहल गरेपनि प्रधानध्यापक इन्कार भएपछि नयाँ भवन बन्न नसकेको बताए ।
पर्सा जिल्ला भरीमा २०६३ सालमा युनिसेफको सहयोग र जिल्ला समन्वय समितिको पहलमा २७ वटा विद्यालय भवन निर्माण गरिएको थियो । त्यो सम्पूर्ण भवनको मर्मत सम्भार नहुँदा अहिले सम्पूर्ण भवनको अवस्था जीर्ण बन्दै गएको एनजीओ सीसी पर्साको वृजकिशोर पटेलले बताए ।