बारा । बाराको सीमावर्ती क्षेत्रबाट व्यापक रूपमा तस्करी मौलाएको छ । भारतको सीमासँग जोडिएको विभिन्न नाकाहरूबाट जिल्ला प्रहरी कार्यालय बाराको मोबाइल टोली ६ का असई हुसैन मियाँको संरक्षणमा तस्करी धन्धा मौलाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट अपराध र अवैध गतिविधि नियन्त्रणका लागि खटिएका असई मियाँकै विशेष पहरामा सीमावर्ती क्षेत्रहरूबाट व्यापक तस्करी भइरहेको स्रोतले जनाएको छ । भारतसँग जोडिएको बाराको मटिअर्वा, मूसहरवा , छातवा ,सिम्रौनगढ, कवहि, अमवा , बलीरामपुर लगायतको नाकाबाट तस्करीहरू भइरहेको नाम उल्लेख नगर्ने सर्तमा प्रहरीले नै जनाएको छ । सीमावर्ती नाका मटिअर्वा, सिम्रौनगढ, कवही, अमवा लगायतका नाकाहरूबाट कपडा, सुर्ती , भैंसी, खाद्य, चिनी, हार्डवेयर , जूता , रजनीगन्दा तुलसी , कवाड लगायतका समानहरूको प्रहरीकै संरक्षणमा तस्करी भइरहेको जनाइएको छ ।
तस्करीलाई निरुत्साहित गर्ने जिम्मेवारी पाएका प्रहरीहरूले नै तस्करहरूको संरक्षण गर्दै तस्करी धन्धाहरूलाई तीव्रता दिने क्रममा बाराका तस्करहरूले निर्बाध रूपमा करोडौँको राजश्व छली गरी भारतबाट कपडाहरू आयात गरी नेपालका विभिन्न सहरहरूमा निर्यात गर्ने गरेको जनाइएको छ । तस्करहरूले अवैध रूपले भैंसीको तस्करी गरिरहेको समेत जनाइएको छ भने नेपालबाट घरेलु मदिरा लगायत अन्य मदिराहरुको तस्करी भइरहेको छ ।
आफूलाई ईन्मन्दार र कर्तव्यनिष्ठ बताउने प्रहरी अधिकारीहरूकै निर्देशनमा बारा प्रहरीका प्रहरीका असई मियाँ र क्राइम ब्रान्चका असई रवि साह , वरिष्ठ हवल्दार विजय यादव र रवीन्द्र प्रसाद यादव लगायतका प्रहरी जवानहरूले उक्त तस्करी धन्धाबाट लाखौँ कमाई आफ्ना उच्च पदस्थ अधिकारीहरूलाई बुझाउने गरेकोले तस्करी धन्धा मौलाएको जनाइएको छ ।
मोबाइल टोली ६ का असई मियाँको दरबन्दी जनकपुर भएपनि मोटो रकम खुवाएर १ वर्ष देखि काजमा बसी मोबाइल टोली चलाइरहेका छन् । असई मियाँ वर्षमा एक चोटी पनि वर्दी नलाउने प्रहरी हुन । असई मियाँले जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षकको आँखा धुल झोक्दै तस्करी गराउनमा माहिर रहेका छन् । उनी पर्सामा आफ्नो ठूलो ठूलो पत्रकारहरु संग चिनजान रहेको बताउदै प्रहरी देखि तस्करहरुलाई समेत तर्साउने गरेका छन ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय बाराले कुनै पनि नाकाबाट तस्करी नभएको जिकिर गरेको छ ।