वीरगञ्ज । चाडपर्वको बेला रक्तसंचार केन्द्र वीरगञ्जमा रगतको अभाव भएको छ। चाडपर्व चलिरहेको बेला रक्तदानका कार्यक्रम नियमित नहुँदा रगतको अभाव हुन थालेको हो।
पर्सा, बारा, रौतहट र सर्लाही गरी चार जिल्लाका बिरामीलाई आपतकालीन अवस्थामा रगत आपूर्ति गर्ने उक्त रक्तसंंचार केन्द्रमा रगतको मौज्दात नरहेका कारण रगत लिन केन्द्रमा धाउने आफन्त र कुरुवा रित्तो हात फर्कन बाध्य छन।
वीरगञ्जका प्रमुख सौरभराज पाण्डेका अनुसार चाडपर्वको कारण रक्तदान कार्यक्रमहरू नियमित नहुँदा रगतको अभाव भएको हो। ‘दसैं, तिहार, छठ पर्वमा रक्तदान कार्यक्रमहरू नै हुँदैन, त्यसैले यस बेला रगतको अति अभाव हुन्छ,’ पाण्डेले भने, ‘बिरामीहरूलाई यतिबेला धेरै नै गाह्रो हुन्छ । हामीले पनि समन्वय गरेर रगत दाताहरू खोजिदिन्छौं।’
उनका अनुसार दुई हप्तादेखि नियमित रुपमा रक्तदानका कार्यक्रम हुन सकेको छैन। चाडपर्वको समयमा विभिन्न सङ्घ संस्था तथा क्लबहरुले गर्ने रक्तसंकलन कार्यक्रम पनि नहुने हुँदा रगत अभाव भएको हो।
रगतदानका लागि सचेतनामूलक कार्यक्रम नहुँदा र रक्तदातालाई प्रोत्साहन गर्न नसक्दा हरेक वर्ष चाडपर्वको बेलामा रगतको अभाव हुने गरेको छ। विगतका वर्षहरुमा जस्तै यो पटक पनि रगत अभाव भएपछि रक्तसञ्चार सेवा केन्द्रले रगत दानलाई नियमित गरिदिन आग्रह गरेको छ।
रगतको माग अनुसार पूर्ति गर्न नसकेकाले रक्तदान गरेर जीवनदान दिन सबै रक्तदाता, रक्तदान गर्ने सङ्घसंस्था, रेडक्रसकर्मीमा रक्तदान कार्यक्रमको आयोजना गरिदिन रक्तसञ्चार सेवा केन्द्र वीरगञ्जले आग्रह गरेको हो।