रूकुम पश्चिम — प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन टुटाएर सरकार ढाल्न अनेक कसरत भइरहेको बताएका छन् । रूकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मग्मामा बिहीबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्रत्रीले यस्तो दाबी गरेका हुन् ।
कसले त्यस्तो षडयन्त्र गरिरहेको छ भन्ने उल्लेख नगरी प्रधानमन्त्री दाहालले अनेकन षड्यन्त्र चिरेर सरकारअघि बढ्ने पनि बताए । उनले कांग्रेससँगको गठबन्धन र सरकारले पाँच वर्ष पूरा गर्ने विश्वास समेत दिलाए ।
बाँफिकोट ६ मा आयोजित सहिद स्मृति मेलाको उद्घाटन गर्दै उनले आफ्नो नेतृत्वमा भ्रष्टाचारविरूद्धको अभियान जोडतोडका साथ अघि बढेको पनि प्रधानमन्त्री दाहालको भनाइ थियो । 'अहिले अघि बढाइएको भ्रष्टाचार विरोधी अभियान कुनैपनि हालतमा रोकिन्न,' उनले भने, 'अरू पनि थुप्रै विषय छन् । सबै फाइल खोलिन्छ र कारबाही अघि बढाइन्छ । ढुक्क हुनुस् ।'
त्यस्तै प्रधानमन्त्री दाहालले आफूले नै 'प्रचण्डपथ' त्यागेको स्वीकार गर्दै यसपछी माओवादी टुटफुटको अवस्थामा पुगेकोमा दु:ख व्यक्त गरे । 'अब व्यापक रूपमा विचारको बहस गरिनेछ । अनि पर्टीलाई नयाँ शिराबाट अघि बढाइनेछ,' उनले भने, 'अब सबै माओवादी एकीकृत भएर अघि बढ्नुको विकल्प छैन ।'
माओवादी केन्द्रले थालेको ३ महिने 'विशेष रूपान्तरण अभियान' अन्तरगत बाँफिकोट ६ र ७ को संयुक्त बैठकमा समेत दाहाल सहभागी भएका थिए । उनीसँगै कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा र माओवादी केन्द्रका उपमहासचिवद्वय जनार्दन शर्मा र मातृका यादव पनि बिहीबार रूकुम पश्चिम पुगेका थिए ।
मन्तव्यका क्रममा प्रधानमन्त्री दाहालले यहाँबाट फर्केलगत्तै रूकुमको पक्षमा मन्त्रिपरिषद्बाट विशेष निर्णय गर्नेसमेत प्रतिबद्धता व्यक्त गरेका छन् ।