दशैं मान्न डेरावाला वीरगन्जबाट सर्लाहीस्थित पुख्र्यौली घर गएका बेला उनको कोठाबाट १० लाख बराबरको गरगहनासहित नगद चोरी गर्ने दुई जना चोरलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर १ जानकीनगर घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित एक घरमा कोठा भाडामा लिइ बस्दै आएका खिल बहादुर मैनाली दशैं मान्न परिवारसहित सर्लाहीस्थित पुख्र्यौलीघर गएका थिए । उनि परिवारसहित घर गएका बेला वीरगन्जस्थित डोराकोठाबाट कात्तिक ८ गतेराति कोठाको ताल्चा फुटाई सुन चाँदीका गरगहाना तथा नगद समेत गरी १० लाख मुल्य बराबरको मालसामान चोरी भएको थियो ।
घरबाट फर्किएका मैनालीले कोठामा चोरी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न दुई जना युवकलाई वीरगन्जबाटै पक्राउ गरेको हो ।पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाका ३२ वर्षिय शेख मख्खु र ३० वर्षिय पवन यादव रहेका छन् ।
पक्राउ परेका मख्खुको कोठामा खानतलाशी गर्र्दा मैनालीको कोठाबाट चोरी भएका सुनको औंठी २ थान, सुनबाट बनाइएको चन्द्रमाको कभर १ थान, सुनको डल्ला १ थान, मंगलसुत्र १ थान, कानको टप १थान, .चाँदीबाट बनेको सिन्दुरको डब्बा १ थान, चाँदीको पाउजु २ थान, चाँदीको साँचो १ थान, चाँदीको वाला २ थान, पित्तलको बाला १ थान र नगद १५ हजार रुपैयाँसमेत बरामद भएको प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
पक्राउ परेका दुवैजनालाई प्रहरी हिरासतमा राखेर चोरी सम्बन्धी कसूर शीर्षकमा मुद्धा दर्ता गरी कारबाही प्रकृया अगाडि बढाइएको थापाले बताए ।