बिन्दबासिनी । पर्साको बिन्दबासिनी गाउँपालिकाका वडा अध्यक्षहरुले आन्दोलनरत कर्मचारीहरुलाई आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिइ पालिकाको दिनचर्यामा फर्किन आग्रह गर्दै यस्तो घटनाहरू पुन: नदोहोरिने प्रतिबद्धता जनाए पछि आईतबार देखि पालिका खुल्ने भएको छ ।
मिति २०८०।०६।३० गते शिक्षा शाखा प्रमुख र प्रधानाध्यापकहरुमाथि वडाअध्यक्षहरुद्वारा गरिएको दुर्व्यवहारका कारण गाउँपालिका अन्तर्गतका कर्मचारीहरु आन्दोलित भई गाउँपालिका मातहतका कार्यालयहरुको सम्पूर्ण सेवा प्रवाह बन्द रहेको थिए ।
गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीको अध्यक्षतामा आन्दोलनरत्त कर्मचारीहरु, शिक्षक महासंघ प्रतिनिधिहरु, प्रधानाध्यापक प्रतिनिधिहरु र सम्पूर्ण वडाका वडाअध्यक्षहरु बैठक बसी अगामी दिनमा यस्तो किसिमका घटनाहरु पुनः नदोहोरिने प्रतिबद्धता पश्चात आन्दोलन फिर्ता भएको प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाले बताए । साथै मिति २०८०।०७।१९ गते आईतबार देखी नियमित रुपमा गाउँपालिका तथा मातहतका सम्पुर्ण कार्यालयहरु संचालन हुने जानकारी गराए ।
कर्मचारीहरुको आन्दोलनले गाउँपालिका अस्तव्यस्त हुन पुगेकोले वडा अध्यक्षहरुले पालिका खोल्न र कामकाजमा फर्किन कर्मचारीहरूलाई आग्रह गरेका थिए ।
अध्यक्ष तिवारीको संयोजकत्वमा भएको वार्तामा वडा अध्यक्ष अच्छेलाल महतो , मुक्ति राउत कुर्मी , जयप्रकाश चौरसिया , अनोज कुमार चौरसिया , मोहन यादव , लेखा प्रमुख मिथलेश कुशवाहा , शिक्षा शाखा प्रमुख कपिल लामिछाने , प्रधानध्यापक नन्दु प्रसाद यादव , मुकलेश राउत गदी लगायतको सहभागिता रहेको थियो ।