वीरगन्ज । कात्तिक कृष्णपक्षमा मनाइने तिहारको तेस्रो दिन बिहीबार हुने दीपावलीको लागि वीरगन्ज नगरका बस्तीमा माटोको दियो, घैला सहितका भाँडाको बिक्री घटेको छ ।दीपावली र छठ पर्वमा कलश, दियो, घडा, छ्याँची र ढकना सहित नयाँ माटाका भाँडा प्रयोग गरिने बजारमा माटाका भाँडाको बिक्री गत वर्षको तुलनामा यस वर्ष निकै कम भएको हो ।
वर्षभरि अन्य बेला खासै प्रयोगमा आउन छाडेका माटाका भाँडा यी तिहार पर्व विशेषमा अनिवार्य जस्तै मानिँदै आएकाले यसले बजार पाएको व्यावसायीहरुले बताउँछन् । मुख्य व्यापारिक केन्द्र वीरगन्ज , पोखरीया , बिन्दबासिनी , भिस्वा लगायत गाउँ घरको मुख्य चोक नभई दिनहुँ जसो माटाका भाँडा बिक्रीका लागि राखिए पनि बिक्री नहुँदा व्यावसायीहरु निराश भएका छन् ।
गत वर्ष १५० देखि २०० मा एक सय पिस बिक्री भएको दियो यस वर्ष १०० रूपैयाँमा पनि बिक्री हुन नसकेको व्यपारीहरुले बताएका छन् । यस वर्ष दियो सय रुपैयाको एक सय पिस बिक्री हुदैछ भने कलशा ५०/६० रुपैयाँमा एउटा र माटोको हाथि ४ सय देखि १५ सय सम्मको बिक्रीको लागि राखिएको छ ।
व्यपारीहरुका अनुसार गत वर्ष खासै बिक्री हुन नसके पछि यस वर्ष मूल्य कम राखिएको छ । मूल्य कम भए पनि यस वर्ष पनि खासै बिक्री हुन नसकेको व्यपारीहरुले बताएका छन् ।
सांस्कृतिक पर्वमा आवश्यक पर्ने भाँडा माटोकै प्रयोग गरिने प्रचलनले यस्ता पर्व नजिकिएसँगै माटोका भाँडा बनाउने कुम्हालेको व्यस्तता निकै बढेको भएपनि बिक्री नहुँदा निराश देखिएका छन् । तराई क्षेत्रमा माटोका नयाँ भाँडा कार्य गर्न उत्तम हुने धार्मिक, सामाजिक मान्यताले चाड पर्वमा यसको माग ह्वात्तै बढ्ने गरेको यहाँका उद्यमी, व्यापारी र सर्वसाधारण बताउँछन् ।
दीपावली र छठ पर्वमा बत्ती बाल्ने दियो, कलश राख्ने घडा तथा माटोकै नयाँ भाँडा प्रयोग गरिने परम्पराले यसको कारोबारमा वृद्धि भएको माटोका भाँडा बनाउँदै आएका पकाहामैनपुर गाउँपालिकाका एक व्यावसायीले बताउनुभयो । उनका अनुसार पहिले पहिले त हाम्रो गुजाराको पेसा नै यही थियो, अब प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढेपछि चाडपर्वमा खुम्चिएको गुनासो गर्नु भयो ।
वहाँले यतीको हुँदा समेत पर्वमा अनिवार्य माग भएकाले कात्तिक कृष्णपक्ष सुरु भएसँगै तिहारको तयारी थालिने र लगत्तै छठ आउने भएकाले सर्वसाधारण पर्व विशेषको समानको जोहोमा लागेसँगै माटाका भाँडाको व्यापार बढेको बताउनुभयो ।