वीरगञ्ज । वीरगञ्जको विर्तामा रहेको बलसुधार गृह आज बिहान ८ बजे दुई समूहबीच विवाद भएको छ । सुधार केन्द्र भित्र रहेका बाल कैदीहरुले खानाको व्यवस्था राम्रो नभएको भन्दै नाराबाजी गर्दा विवाद भएको थियो ।
विवाद हुँदै गर्दा दुई समूह बनाएर बाल कैदीहरुले आफैमा भिड्नत सुरु गरेका थिए । दुई समूहबीच भएको भिडन्तमा परी बाल सुधार गृहका एक प्रहरी हवल्दार कुटिएका छन् ।
अहिले त्यस क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको र अवस्था सामान्य गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल साहले जानकारी दिनु भयो ।
उनीहरूको आपसी विवाद भएको बताउँदै उनीहरूलाई सम्झाई बुझाई त्यहाँको स्थिति सामान्य बनाइएको प्रहरी उपरीक्षक शाहले बताए ।
बीरगंज वाल सुधार गृहमा अहिले ११७ जना बाल कैदीहरु रहेका छन् । जस मध्ये ७ जनाको उमेर १८ वर्ष भन्दा बढी भैसकेको छ । उमेर बढी भैसकेकाहरुले आफूलाई बलियो ठान्दै १८ वर्ष मुनिका बाल कैदीहरुमाथि बारम्बार आक्रमण गर्दै आएका छन् ।
उनीहरूले एकआपसमा मिलेर आफूलाई बलियो ठान्दै हामीहरूलाई निरन्तर कुटपिट गरी शोषण गर्दै आएका छन् भने हामीलाई नाम नखुलाउने शर्तमा एक बालकले जानकारी दिए ।
उनका अनुसार उनीहरूको शोषण नसहेर हामीले प्रतिकार गर्दा बारम्बार झडप हुने गरेको बताए । उमेर पुगेकाहरुको कारागारमा व्यवस्थापन गर्न उनले अनुरोध गरे ।
यस अघि पनि बाल सुधार गृहमा बारम्बार झडप हुँदै आएको छ । केही दिन अगाडि भएको झड्प २ दिनसम्म निरन्तर चलेको थियो ।
बाल सुधार गृहका प्रमुख टिका काफले आएदेखि नै बाल सुधार गृहमा यस्ता समस्या उत्पन्न भएको उनीहरूको आरोप छ । काफ्लेले आएदेखि नै झडप , कुटपिटसँगै बालबालिकाहरुलाई यातना दिने कार्य सुरु गरिएको उनीहरूको आरोप छ । काफ्लेले व्यवस्थापन राम्रो गर्न नसकेर आफ्नो कमी कमजोरी लुकाउन हामीहरूलाई बारम्बार यातना दिँदै आएको उनीहरूको आरोप छ ।