जनकपुरधाम । आरती साह मृत्यु प्रकरणमा सर्वोच्च अदालतले उनका पति मोतीबाबु साहलाई पुपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।
यसअघि गत असोज १८ गते जिल्ला अदालत धनुषाको फैसला बदर गर्दै उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा रहेका आरतीका पति मोतीबाबु र ससुरा मदन मोहन ब्याहुत सुँडीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशविरुद्धको रिटमा सर्वोच्च अदालतले उच्च अदालतको आदेश आंशिक उल्टाउँदै पति मोतीबाबुलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
आरत गत जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका ९ थापाचोक स्थित आफ्नै घरमा झुण्डेको अवस्थामा मृत भेटिएकी थिइन् । उनलाई परिवारजले उपचारको लागि भन्दै काव्या अस्पताल लगेपछि प्रहरीले थाहा पाएको थियो । माइती पक्षले आरतीको दाइजोको कारण हत्या श्रीमान र ससुराले गरेको आरोप लगाएको छ ।
आरतीको हत्या गरेको भन्दै उनका श्रीमान र ससुरालाई कडा कारबाही गर्न माइती पक्षले लामो समयदेखि आन्दोलन गर्दै आएको थियो । आरतीका आमा, बुवा र बहिनी विगत ६ महिनादेखि काठमाडौंमा धर्ना बसेका छन् ।
धर्ना बस्दा पनि सरकारले न्याय दिन नसकेपछि मधेश प्रदेशका पूर्वन्यायाधिवक्ता दीपेन्द्र झाले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमा आज बहसपछि आरतीको श्रीमानलाई थुनामा पठाउने आदेश दिएको छ ।
आरतीको हत्या भएको भन्दै माइती पक्षले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरीसमेत दिएको थियो । त्यसपछि प्रहरीले आरतीका श्रीमान मोतीबाबु र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरी अनुसन्धान पनि गरेको थियो । उनीहरुविरुद्ध जिल्ला अदालत धनुषामा जिल्ला सरकारी वकिल कार्यालयले असार १ मा ज्यानसम्बन्धी मुद्दा दायर गरेको थियो । ५ असारमा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पनि पठाएको थियो ।
तर, उच्च अदालत जनकपुरधामको आदेशपछि आरतीका पति र ससुरा रिहा भए । त्यसपछि आरतीका आमा, बुवा र बहिनी काठमाडौं पुगेर धर्ना बसेका थिए ।