वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिका–२ का वडाध्यक्ष जितेन्द्र पटेल २२ दिनदेखि फरार छन् । कीर्ते मुद्दामा अनुन्धानका लागि जिल्ला प्रहरी पर्साले वडाध्यक्ष पटेल र स्थानीय विकास यादवकी श्रीमती संगीतालाई पक्राउ गर्नका लागि मातहातका कार्यालयमा पत्राचार गरेको थियो ।
संगीता पक्राउ परेपनि वडाध्यक्ष पटेल भने अझ फरार छन् । वडाध्यक्ष संलग्न रहेको कीर्ते मुद्दाको अनुसन्धान मिसिल प्रहरीले मंगलबार सरकारी वकिल कार्यालयमा बुझाएको छ । पर्सा प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाले वडाध्यक्ष पटेल हालसम्म पक्राउ नपरेको बताए ।
स्थानीयका अनुसार अदालतलाई पनि प्रभावमा पारेर मेरो मुद्दा राफसाफ हुन्छ भनेर वडा अध्यक्ष पटेल गाउँमा आफ्ना निकट कार्यकर्ताहरुलाई बताउने गरेका छन् । मेरो केहि हुन सक्दैनन् श्रोत भन्छ्न की मैले अदालतमा सेटिङ गरिसके अदालतमा धरौटी हुन्छन्... वडाध्यक्ष जितेन्द्र पटेल।
बहुदरमाई नगरपालिका–२ सिसयाडीका बासिन्दा विकासले आफ्नै श्रीमतीलाई कान्छी आमा बनाएर निधन भइसकेका बुवाको निवृत्तिभरण (पेन्सन) लिइरहेको पाइएपछि स्थानीयले विकास यादव, उनकी श्रीमती संगीता यादव र वडाध्यक्ष जितेन्द्र पटेलमाथि मुद्दा दर्ता गराएका हुन् । गएको ५ वर्षमा विकासले पेन्सनको रुपमा करिब २२ लाख रुपैयाँ सरकारी ढुकुटीबाट बुझिसकेका छन् ।
मनकामना प्राथमिक विद्यालयका प्रधानाध्यापक रहेका विकासका बुवा विनोद यादवको अवकासपछि २०७४ माघ १ मा मृत्यु भएको थियो । यसअघि उनकी श्रीमती मिनादेवी यादवको २०६० असार १९ मा मृत्यु भएको थियो । बुवाले पाउने पेन्सनका लागि विकासले आफ्नी श्रीमती संगीतालाई गीतादेवीको नामले बुबासँगको नाता (कान्छी श्रीमती) प्रमाणित गराई अर्को नागरिकता समेत निकालेका छन् ।
बुवाको मृत्युपछि विकासले आफ्नी श्रीमती संगीता देवीलाई कान्छी आमा बनाएर पेन्सन लिँदै आएको खुलेपछि स्थानीय प्रमोद यादवले सरोकारवाला निकायमा उजुरी गरेका हुन् । अनुसन्धानका लागि प्रहरीले विकासलाई नियन्त्रणमा लिएको छ । आर्थिक मिलेमतोमा वडाध्यक्ष पटेलले श्रीमतीलाई कान्छी आमा बनाउन सहयोग पुर्याएको भन्दै स्थानीयले उनीमाथि पनि मुद्दा दर्ता गराएका हुन् ।
मृत्यु दर्ता किताबमा विनोदकी श्रीमतीको नाम मिनादेवीनै उल्लेख छ । ‘मृत्यु दर्ता प्रमाणपत्रमा समेत मिना देवीनै उल्लेख छ । तर, नक्कली मृत्यु दर्ता प्रमाणपत्रमा मिना देवी लेखिएको ठाउँमै गीतादेवी थपिएको छ,’ उजुरीकर्ता प्रमोद भन्छन्, ‘मृत्यु दर्ता प्रमाणपत्रमा गीतादेवी पछि थपिएको प्रस्टै देख्न सकिन्छ ।’ विवाह दर्ता किताबमा समेत संगीतादेवीको नामको अगाडिको ‘स’ अक्षर मेटाइएको छ ।
२०७५ असार १२ मा वडाध्यक्ष पटेलले गीतादेवी यादव विनोदप्रसाद यादवको श्रीमती भएको सिफारिस गरेका छन् । ‘निवेदिका मेरो एकासगोलको कान्छी आमा हो । कुनै फरक पर्नेछैन । फरक परी झुठा व्यहोरा ठहर भए प्रचलित ऐन कानुन बमोजिम सम्पूर्ण जवाफदेही मै हुनेछु,’ भनि विकास यादवले सनाखत गरेका छन् । पहिलो पटक स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका पटेल पछिल्लो पटक कांग्रेसबाट पुनः वडाध्यक्षमा विजयी भएका हुन् ।
उजुरीकर्ता प्रमोद यादव विनोद यादवका कान्छो भाई हुन् । उनका अनुसार गैरकानुनी रुपले पेन्सन खानको लागि विकासले पत्नी संगीतादेवीलाई नै नक्कली कान्छी आमा बनाएका हुन् । ‘वडाध्यक्षले आफ्नो काम, कर्तव्य र पदीय जिम्मेवारी नबुझी वडा सचिवले गर्ने काम आफैं गरी विकास र उनकी पत्नी संगीतादेवीको नाता प्रमागित गरेका हुन्,’ उनले भने, ‘गलत नाता प्रमाणित गरि फर्जी नागरिकताको लागि सिफारिस समेत गरेका छन् ।’
सुरुमा विकासले नाता प्रमाणितका लागि वडा कार्यालयमा निवेदन दिँदा तत्कालीन वडा सचिव रामअयोध्याप्रसाद साहले विनोदको एक मात्र पत्नी मिनादेवी यादव रहेकी र कुनै कान्छी पत्नी नभएको भन्दै कार्यालयबाट झुठो नाता प्रमाणित गरेका थिएनन् । त्यसपछि विकाशले २०७४ माघ २१ मा उच्च अदालत जनकपुर अस्थायी इजलाश वीरगन्जमा वडा कार्यालय विरुद्ध नाता प्रमाणित गराउन परमादेश आदेशको लागि रिट निवेदन दिएका थिए ।
उच्च अदालतले स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा वडा समितिलाई नाता प्रमाणित गर्ने कार्य तोकिएको अवस्थामा निवेदकका नाता प्रमाणितको लागि आवश्यक कागजात लिई वडा कार्यालयमा आए कानुन बमोजिम प्रक्रिया पुर्याई नाता प्रमाणित गर्ने परमादेश गरेको थियो । अदालतले आवश्यक कागजात लिई कानुन बमोजिम प्रक्रिया पुर्याई नाता प्रमाणित गर्ने आदेश गरेको भएपनि वडाध्यक्ष पटेलले २०७५ असार ४ मा आफ्नो काम कर्तव्य र पदीय जिम्मेवारी नबुझी वडासचिवले गर्ने काम आफैंले गरी विनोद यादवको कान्छी श्रीमती भएको प्रमाणित गरेका थिए ।
२०७४ फागुन १५ वडा कार्यालयमा वडाध्यक्ष, वडासदस्य फुलेना साह, अक्षय यादव, रम्भा यादव, उमरावती देवी र वडा सचिव रामअयोध्या साह उपस्थित भएको बैठकले विनोद यादवको एक मात्र श्रीमती मिनादेवी रहेकी र कुनै कान्छी श्रीमती नभएको हुँदा झुठो नाता प्रमाणित गराई गैरकानुनी रुपले पेन्सन खाने प्रयोजन भएकोले विनोद यादवको छोरा विकास यादवले पत्नी संगीतादेवीलाई नै गीता यादव बनाएको झुठो ब्योहोरा प्रमाणित नगर्ने निर्णय गरेको थियो । उक्त निर्णयमा वडाध्यक्ष पटेलले समेत हस्ताक्षर गरेका छन् ।