वीरगञ्ज / पर्सा इलाभेनले दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । बिहीबार भएको उद्घाटन खेलमा भारतको यूपी इलाभेनलाई एक विनेटले हराउँदै पर्साले विजयी सुरुवात गरेको हो ।
यूपी इलाभेनले दिएको ६७ रनको लक्ष्य पर्सा इलाभेनले १६.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । उसका लागि अनिल साहले १८ र कप्तान सन्दीप लामिछानेले १२ रन जोडे ।
बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । यूपी इलाभेनका लागि तरुण कुमार र वासि अन्सारीले सर्वाधिक दुई/दुई विकेट लिए ।
त्यसअघि वीरगञ्जको नारायणी क्रिकेट ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको यूपी इलाभेन १६ ओभरमा ६६ रनमै अलआउट भएको हो । उसका लागि समीर अन्सारीले २४, जयदीप सिंह र तरुण कुमारले १२/१२ रन बनाए ।
पर्सा–११ का लागि कप्तान सन्दीप लामिछानेले ४ ओभरमा एक मेडन राख्दै २९ रन खर्चिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, रञ्जित कुमार, पवन सर्राफ र रुपेश सिंहले दुई/दुई तथा शफिउल्लाह अन्सारीले एक विकेट लिए ।
प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र यूपी–११ को सहभागिता रहेको छ ।