वीरगन्ज । बङ्गलादेशमा चिकित्साशास्त्र अध्ययन गरिरहेका एकजना नेपाली पुरुषसँग छ वर्ष सँगै बसेकी एकजना बङ्गलादेशी महिला अहिले ती पुरुषलाई पति भन्दै वीरगंजमा खोज्न आइपुगेकी छन् ।
बारा जिल्ला कलैया उपमहानगरपालिका–२० हाल वीरगंज महानगरपालिका–३ छपकैया निवासी नारायणी अस्पतालको बीमा शाखामा दैनिक ज्यालादारीमा कार्यरत डा जफर इमामलाई ती बङ्गलादेशी महिलाले पति दाबी गरेकी हुन् र ती महिला वीरगंज आएको थाहा पाएर डा इमाम सम्पर्कविहीन भएका छन् ।
डा इमाम बङ्गलादेशमा चिकित्साशास्त्र पढ्दा आफूसँग एक वर्ष प्रेममा रही सन् २०१८ मा बिहे गरी सँगै बसेको ती महिलाको दाबी छ ।
डा इमामकी पत्नी भएको दाबी गर्ने फतेमा तुजेहरले आफूले डा इमामसँग मुस्लिम धर्म अनुसार बिहे गरेको र सोको प्रमाण जिल्ला प्रहरी कार्यालय, पर्सामा दिएको बताएकी छन् ।
इमाम इनम मेडिकल कलेज एन्ड हस्पिटल, बङ्गलादेशमा अध्ययनरत थिए भने फतेमा अज्जाज निजानु रहमान कृषि कलेजमा बिएससीएजी अध्ययन गरिरहेकी थिइन् ।
फतेमाका अनुसार सन् २०१७ मा इमामसँग त्यहाँको एक सार्वजनिक बसमा भेटघाट भएको थियो । यात्रा गर्ने क्रममा इमामले आफ्नो मोबाइल बन्द भएको भन्दै फतेमाको मोबाइल प्रयोग गरी आफ्नो साथीसँग कुरा गरेका थिए । त्यसपछि इमाम र फतेमा निरन्तर सम्पर्कमा रहेपछि ती दुईजनाबीच प्रेम सम्बन्ध बढेको थियो । इमामले अध्ययन पूरा गरी सोही कलेजमा अध्यापन गर्ने क्रममा फतेमासँगै बसेका थिए ।
इमाम कोरोनाकालमा लकडाउन भएपछि नेपाल घर फर्केका थिए । त्यसपछि पनि उनीहरूबीच संवाद चलिरहेको थियो । यसबीच इमामको नेपालमा अर्काे केटीसँग बिहे भयो र त्यसको सुइँको फतेमाले पाएपछि उनी इमामको खोजी गर्न नेपाल आएकी हुन् ।
अप्रिलमा नेपाल आएकी फतेमालाई इमामले घरमा नराखेर बसपार्कको वेलकम होटलमा एक साता राखेर बङ्गलादेश घर फिर्ता पठाएका थिए । अहिले दोस्रो पटक तीन दिनअघि मात्र नेपाल आएकी फतेमा प्रहरीमार्फत इमामको खोजीमा लागेकी छन् ।
इमाम कार्यरत नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चित्तरञ्जन साहले डा इमाम दैनिक ज्यालादारीमा कार्यरत रहेका र हाल उनी सम्पर्कमा नभएको बताए ।
जिल्ला प्रहरी कार्यालय पर्साले छलफलको लागि डाक्टर इमामलाई उपस्थित गराउन वडा प्रहरी कार्यालय विर्तालाई पत्र पठाइसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ध्रुव कुमार श्रेष्ठले बताउनु भयो । इमामालाई उस्तिथि गराई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनु भयो ।
हालती बंगलादेशी बुहारीलाई प्रहरीको निगरानीमा माइती घर नेपालको कार्यालय छपकैयामा राखिएको छ ।