वीरगन्ज । ब्रिटिस सेनालाई नेपालीले पराजित गरेकाे पर्साकाे ऐतिहासिकस्थल पर्सागढीमा बिहीबार विजय उत्सव मनाइएको छ ।नेपाली सेनाकाे सहकार्य तथा पर्सागढी नगरपालिकाको आयोजनामा पर्सागढी विजय उत्सव मनाइएको हो ।
विक्रम संवत १८७१ पुष १९ गते बागवान्नाको स्थानीय बासिन्दा रञ्जित चौधरीको सहयोगमा वीर गोर्खाली सेनाले ब्रिटिस सेनाका कमाण्डर बेनेट मार्लीको टोलीमाथि विभिन्न युद्धकला लगाएर पराजित गरी हराएको ठाउँ भएकोले यसको ऐतिहासिक महत्वलाई जगेर्ना गर्न पर्सागढीमा पुष १९ गतेलाई विजय उत्सवको रुपमा मनाउन थालिएको हो ।
पर्सागढी विजय उत्सव कार्यक्रमको उद्घाटन गर्दै पर्सा क्षेत्र नम्बर २ का सांसद अजय चौरसियाले नेपालको अन्य गढी जस्तै पर्सागढीको महत्त्व र विशेषता महत्वपूर्ण रहेकोले यसको संरक्षण र प्रवद्र्धनमा तिनै तहको सरकार जुटनु पर्नेमा जोड दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य श्याम पटेलले पर्सागढीलाई पर्यटन प्रबद्र्धनको प्रमुख केन्द्र बनाउन प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठकले पर्सागढी हरपुर, जिगना, पचरुखी, बागेश्वरी तित्रौना र बागवन्ना गरी ५ वटा गाउँको धरोहर भएको बताए।उनले १८७१ मा अङ्ग्रेज सेनाहरू पर्सागढीको सीमानामा आएर विश्राम गरी फस्ट जनवरीमा नयाँ वर्ष मनाइरहँदा स्थानीय रञ्जित चौधरीको सहयोगमा नेपाली गोर्खाली सेनासँग मिलेर तिलावे र सिंघयाई खोलामा बाँध बाधेर ऐतिहासिक रुपमा ब्रिटिस सेनालाई पराजित गरेको स्थान भएको बताए ।
गोर्खाली सेना र गाउँले मिलेर ग्रामीण क्षेत्रमा प्रयोग हुने खुकुरी, भाला लगायतका घरेलु हतियारले ब्रिटिस सेनामाथि विजय प्राप्त गरेको ठाउँ भएकोले आजको दिन पर्सागढीबासीका लागि अत्यन्तै महत्वपूर्ण रहेको पर्सागढी महोत्सव आयोजक समितिका संयोजक वृजमोहन चौधरीले बताए।
विजय उत्सवको अवसरमा पर्सागढी नगरपालिकाको कार्यालय हरपुरदेखि पर्सागढी मन्दिर स्थलसम्म बाजागाजा सहित नेपाली सेनाको टोलीले झाँकी समेत प्रदर्शन गरेको थियो ।त्यस अवसरमा परम्परागत हतियारहरूको प्रदर्शन तथा थारु, यादव र मधेसी समुदायको भेषभुषा, परम्परा झल्कने गरी झाँकी प्रदर्शनपनि गरिएको थियो ।
विजय उत्सवको अवसरमा आयोजित कार्यक्रममा पर्सागढीका पूर्वमेयर लोकनारायण यादव, पूर्वमेयर अर्चना चौधरी,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविरमण भट्टराई, नेपाली सेनाका उपसेनानी सन्देश समान, सशस्त्र प्रहरी निरीक्षक केशव श्रेष्ठ लगायत स्थानीय बासिन्दाको ठूलो संख्यामा सहभागिता रहेको थियो ।