वीरगन्ज । यस वर्षको स्वर्गीय गोपाल गिरी क्रियाशील पत्रकारिता पुरस्कार वीरगन्जका पत्रकार बृजलाल पासवाने पाउने भएका छन् ।
नेपाल पत्रकार महासंघ पर्साको सोमबार बसेको कार्यसमिति बैठकले राष्ट्रिय सहारा दैनिकका सहसम्पादक पासवानलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिए । पासवान राष्ट्रिय दलित पत्रकार संघ पर्साका सल्लाहकार पनि हुन् ।
अध्यक्ष तिवारीका अनुसार, यो पुरस्कार आगामी माघ १ गते औपचारिक कार्यक्रमका बीच पासवानलाई प्रदान गरिनेछ ।
स्व। गिरी २०४७ सालमा पत्रकार महासंघ पर्सा शाखाको अध्यक्ष थिए । तत्कालिन वीरगन्ज उपमहानगरको मनोनित मेयर रहँदा २०६० साल माघ १ गते तत्कालिन माओवादीले गोपाल गिरीको हत्या गरेको थियो । उनै गिरीको सम्झनामा नेपाल पत्रकार महासंघ पर्साले यो पुरस्कार वितरण गर्दै आएको अध्यक्ष तिवारीले जानकारी दिए ।
यो पुरस्कारबाट यसअघि शत्रुघन नेपाल, ध्रुब साह, प्रताप श्रेष्ठ, महेशचन्द्र गौतम, बिजय भण्डारी, केसी लामिछाने, श्याम बन्जारा, ओमप्रकाश खनाल, कन्हैयालाल केसरी र गया यादव पुरस्कृत भइसकेका छन् ।