पर्साको वीरगंजमा पूर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन कार्यक्रम गरिने निश्चित भएको छ ।
माघ १३ गतेका दिन वीरगंजको लाल बंगलास्थित चौरमा बारा, पर्सा रौतहट लगायतका जिल्लाका सर्वसाधारणले पूर्व राजा शाहको अझिनन्दन गरिने कार्यक्रम रहेको मूल समितिले जनाएको छ ।
“श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर वित्रम शाहदेव सरकारको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिले विहीबार वीरगंजस्थित नेपाल पत्रकार महासंघको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरि सोबारे जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा समितिका महासचिव हिरा बहादुर चन्दले पूर्व राजा शाहको कार्यक्रम सार्वजनिक गरेअनुसार पुस २८ गते सर्लाहीको बरहथवास्थित मुक्तेश्वर महादेव मन्दिरमा पूजा अर्चना, माघ २ गते रौतहटको शिवनगर स्थित शिव मन्दिरमा पूजा अर्चना, माघ ४ गते बाराको गढीमाई मन्दिरमा पूजा अर्चना गर्ने कार्यक्रम रहेको छ ।
त्यसैगरी माघ १३ गते वीरगंजस्थित लाल बंगला परिसरमा नागरिक अभिनन्दन गरिने कार्यक्रम रहेको चन्दले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष, नेपाली काँग्रेसका वरिष्ठ नेता एवं वरिष्ठ अधिवक्ता देवेन्द्र लाल नेपालीले २०७२ को संविधान अवैध रहेकाले त्यसको विस्थापन गरी राजा र राजनीतिक दलले निर्माण गरेको संविधान २०४७ लाई पुनरस्थापित गर्न अहिंसक आन्दोलनको विकल्प नरहेको बताउनु भयो ।
नागरिक अभिनन्दन समारोह सफल बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय नागरिक संघर्ष समिति, राष्ट्रिय सरोकार मन्च, राष्ट्रिय शक्ति नेपाल, नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद, शिव सेना नेपाल, बीर गोर्खाली अभियान, राष्ट्रवादी शान्ति समुह, मुस्कान सेना नेपाल, राजभक्त राष्ट्रवादी समुह, विश्व हिन्दु महासंघ, राष्ट्रवादी नागरिक समाज, राजसंस्था पुर्नस्थापना संघर्ष समिति, विश्व हिन्दु परिषद, रा प्र पा नेपाल, नेपाल जनतापार्टी, बजरंगदल तथा २०४७ को संविधान हाम्रो अभियान सहितका राजनीतिक दल तथा संघसस्थाहरुका प्रतिनिधिहरु समितिका संयोजक तथा सदस्यहरु रहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।