वीरगन्ज । बचतकर्ताहरूको १ अर्ब भन्दा बढी रकम हिनामिना गरी फरार रहेका सानो पाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक जीबी(गितेन्द्रकाबु) राईसहितलाई पक्राउ गरी कारबाहीकाे माग गर्दै पिडित बचतकर्ताहरुले प्रदर्शन गरेका छन्।
शुक्रबार वीरगन्जको टिबडेवाला धर्मशालामा भेला भएका पिडित बचतकर्ताहरुले विराेध जुलुश निकालेर प्रदर्शन गरेका हुन्।प्रदर्शनमा सहभागीहरुले सानाे पाइलाका सञ्चालक जीबी राईलाई पक्राउ गरी कारबाही गर,बचतकर्ताकाे रकम फिर्ता गर,बचतकर्ताकाे रकम टिभीमा लगानी गर्न पाइदैन लगायतका नारासमेत लगाएका थिए।टिबडेवाला धर्मशालापरिसरबाट निस्किएको विराेध जुलुश नगरपरिक्रमा गरी घण्टाघर चाेकमा पुगेर विराेधसभामा परिणत भएकाे थियाे।
विराेधसभामा बाेल्दै सानाेपाइला सहकारी पिडित संघर्ष समितिका संयाेजक सुशील अग्रवालले बचतकर्ताकाे रकम फिर्ता नगरी फरार भएका सहकारीका मुख्य सञ्चालक जीबी राईसहितकालाई पक्राउ गरी कारबाहीको माग गर्दै माघ २ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउने बताए ।त्यसपछि जिल्लाका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुलाई पिडितहरुले सामुहिक रुपमा भेटेर दबाब दिने उनले बताए।
वीरगन्ज १० आदर्शनगरस्थित सहकारीकाे शाखा कार्यालयमा बिहीबार वीरगन्ज महानगरपालिकाले शिल गरेको थियाे ।महानगरपालिकाले उक्त सहकारीलाई पाँच महिना पहिला अर्थात गत भदाै ४ मा नै समस्याग्रस्त सहकारी घोषणा गरेर त्यसका सञ्चालकहरुलाइ पक्राउ गर्न नेपाल प्रहरी लगायत निकायमा पत्रचार गरेकाे थियाे ।
त्यसकाे आधारमा अदालतले सानो पाइला सहकारीका संस्थापक एंव संरक्षक जीबी राई, वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनीत श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, पूर्वसचिव तस्बिरन मियाँ, कोषाध्यक्ष कुमार रम्तेललगायत १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियाे । तर अहिलेसम्म काेहिपनि पक्राउ भने परेका छैनन् ।
संघर्ष समितिका संयाेजक अग्रवालका अनुसार उक्त सहकारीमा वीरगन्जका करिब ८ सय साना तथा ठूला व्यापारिक घरानाको करिब १ सय ३५ करोड रुपैयाँ बचत रहेको थियो ।
वीरगन्ज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रबर्धनढ शाखामा उक्त सहकारीविरुद्ध एक सय १५ भन्दा बढी लिखित उजुरी परेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामापनि ५२ वटा उजुरी परेकाे प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।
ती सबै उजुरीमा गरि उक्त सहकारीले १ अर्ब भन्दा बढी रकम हिनामिना गरी सदस्यहरुलाई फिर्ता नगरेको पिडित बचतकर्ताहरुले उल्लेख गरिएको वीरगन्ज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रबर्धन शाखा प्रमुख सुनिल कर्णले जानकारी दिए ।
काठमाडौंको कालीमाटीमा केन्द्रिय कार्यालय भएको सानो पाइला सहकारीको वीरगन्जस्थित शाखा कार्यालयमा यसअघि गत असार १० गतेपनि बचतकर्ता सदस्यहरुले प्रदर्शन गर्दै धर्नापनि दिएका थिए ।