वीरगन्ज । पर्साको पकाहामैनपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत उदय शंकर चौधरी र सूचना अधिकारीले निवेदकले माग गरे बमोजिमको सूचना विवरण उपलब्ध गराउन सक्नु भएको छैन । पकाहामैनपुर गाउँपालिकामा सूचना हक प्रयोग गर्दै दर्ता गरेको निवेदन १७ दिन बितिसक्दा पनि आर्थिक प्रशासन शाखाले प्रमाणित विवरण उपलब्ध गराउन नसकेको हो ।
सार्वजनिक सूचना २०६४ को दफा ६ र ७ बमोजिम निवेदकको हकमा सूचना पाउने अधिकारलाई कुण्ठित पार्दै पकाहामैनपुर गाउँपालिकाले कार्यालयबाट भएको अनियमितता बाहिर आउने भएपछि लेखा र जिन्सी शाखाले समयभित्र सूचना उपलब्ध गराएको छैन ।
सार्वजनिक सूचनाको हकले निवेदकले मागेको सूचना सम्बन्धित अधिकारीले १५ दिनभित्र उपलब्ध गराउनु पर्ने भएपनि पकाहामैनपुर गाउँपालिकाले माग गरेको लामो समयसम्म सूचना उपलब्ध गराउन नसकेको हो । पकाहामैनपुर गाउँपालिकाको आर्थिक बर्ष ०७८/०७९ मा पलिकाले गराएको तालिम र जिन्सी शाखाबाट खरिद सामानहरू कुन वडामा कुन शीर्षकमा कहिले कार्यक्रम संचालन भएको पकाहा मैनपुर गाउँपालिका गत आर्थिक वर्षमा कति बजेट जिन्सी शाखाबाट खर्च गरेको भन्ने बारेमा सूचनाको हक प्रयोग गर्दै निवेदन दर्ता गराइएको थियो ।
पकाहामैनपुर गाउँपालिकाको जिन्सी शाखा एवं प्रशासन प्रमुख हरीमोहन महतोको मिलोमतोमा विभिन्न गैरसरकारी संस्था एवं सप्लायर्स फर्ममार्फत करोडौं रकम हिनामिना भएको गुनासो छ । त्यसतै पालिकामा भएको अन्य तालिममा कार्यक्रम संचालनको नाममा किर्ते बिल भरपाई र सहभागीको किर्ते हस्ताक्षर गरि रकम निकासा गरेपछि सूचनाको हक प्रयोग गर्दै कार्यक्रमको बारेमा लिखित रुपमा जानकारी माग्द समेत आर्थिक शाखाले उपलब्ध गराउन सकेको छैन ।
त्यसैगरी पकाहामैनपुर गाउँपालिकाका जिन्सी शाखा हेर्दै आउनु भएका महतोले समेत सडक बत्ति , स्टेशनरी समान खरिद छपाइ र सरसमान वितरण सम्बन्धि शीर्षकमा लाखौ भ्रष्टाचार भएको स्थानीयहरुको गुनासो छ ।
जिन्सी शाखा एवं प्रशासन प्रमुख महत्तो एक विवादित कर्मचारीको रूपमा परिचित हुँदै आएका छन् । उनीमाथि केही दिन आगाडि पालिकाबाट समान चोरेको आरोप समेत लागेको थिए जसबाट उनी कार्यवाहीमा समेत परेका थिए । आर्थिक चलखेल एवं जनप्रतिनिधिहरुको आडमा बाँचेका जिन्सी शाखा एवं प्रशासन प्रमुख महत्तोले पालिकामा भ्रष्टचारको साम्राज्य खडा गरेको समेत आरोप लाग्ने गरेको छ ।
यस विषयमा प्रतिकृया लिन खोज्दा उनले फोन उठाएनन् ।