पर्सा — वीरगन्जका युवा सागर गुरुङ आफ्ना बालसखा अभिषेक नेपालीसँगै सोमबार वीरगन्जको आदर्शनगरमा आयोजित खिचडी (माघी) महोत्सवको खानाको स्टलमा घोङ्गीको परिकारको मज्जा लिइरहेका थिए । ‘बर्षभरि प्रतिक्षा गरेपछि हामीले सहर बजारमा यसरी माघीकै दिन थारु परिकार चाख्न पाइने हो,’ गुरुङले भने, ‘हामीलाई वर्षभरि माघी महोत्सवको प्रतिक्षा हुन्छन् ।
छेउमै उभिएका अभिषेकले घोङ्गी चाखेपछि हाँसको मासु र गँगटोको चोखाको स्वाद लिने प्रस्ताव राखे । ‘ढिलो गर्दा हाँसको मासु र गँगटोको चोखा सक्किन सक्छ,’ अभिषेक भन्दै थिए, ‘छिट्टै चाखी हालौं, नत्र १ वर्ष फेरि प्रतिक्षा गर्नुपर्ला ।’
सागर र अभिषेक जस्ता थुप्रै स्थानीयबासीले सोमबार वीरगन्जमा आयोजित माघी महोत्सवमा थारु परिकारको मज्जा लिइरहेका थिए । मांशाहारीलाई मात्रै होइन, शाकाहारीका लागि पनि बगेया जस्ता माघी परिकार खानेहरुको भीड लागेको थियो ।
वीरगन्ज माघी महोत्सव मूल समारोह समितिले आयोजना गरेको महोत्सवको मन्चमा थारु गीत तथा नाच प्रस्तुत भइरहेको थियो । तर नाच्नेहरु थारुमात्रै थिएनन् । अन्य समुदाय र जातजातिका मानिसहरूको पनि बाक्लो सहभागिता थियो । माघी महोत्सव मूल समारोह समितिले डेढ दशकयता वर्षेनि वीरगञ्जमा यसरी नै महोत्सव गर्दै आइरहेको छ ।
‘पहिले थारु मात्रै हुन्थ्यौँ । तर केही वर्षयता थारुमात्रै होइन, गैरथारुहरुको पनि बाक्लो उपस्थिति हुन्छ,’ थारु समुदायका स्थानीय अगुवा प्रकाश थारुले भने, ‘माघी चाड अब केवल थारुहरुको मात्रै रहेन, यो त साझा भइसक्यो ।’
एउटै समुदायमा बसेपछि सांस्कृतिक रितिथिति र चाडपर्वहरू पनि साझा बन्दै जाने गरेको अनुभूति उनले बताए । जिल्लाका थारु समुदायको बाक्लो बसोबास रहेका स्थानीय तहहरूमा माघी महोत्सव मनाउने चलन बढ्दो छ । त्यस्ता महोत्सवहरूमा थारु र अन्य जातजातिहरुको उस्तै उपस्थिति देखिन थालेको छ ।