सिरहा । सिरहाका मिटरब्याज पीडितहरुले सिडिओ कार्यालयभित्रै साहुलाई कुटपिट गरेको छ । विहिबार मिटरब्याजको मुद्दामा छलफल भईरहेको बेला पीडितहरुले साहुलाई रामधुलाई गरेको हो ।
बिहिवार दिउँसो सिरहा जिल्ला प्रशासन कार्यलय परिसरमै मिटरब्याज पीडितहरुले साहुले बलजबरदस्ती गर्न खोजेपछि कुटपिट गरेको हो । कुटपिटले साहुलाई टाउकोमा चोट लागेको हो ।
कपाली तमसुक अनुसार मिटरब्याज पीडित अर्थात ऋणी भनिएका राज कुमार महतो र साहुकार धनी सूर्य कुमार यादबबीच लेनदेन विषय लिएर कुटपिट भएको हो । साहु सुर्य कुमार यादव कानुन व्यावसायी समेत रहेका छन् ।
साहुकार यादव र ऋणी महतोबीच आपसी लेनदेन विषयमा विवाद भएपछि यादवमाथि कुटपिट गरिएको हो । विवादकै क्रममा साहु यादवलाई टाउकोमा हानेपछि रगत निस्केको बताईएको छ ।
जानकारी अनुसार, साहु सुर्य कुमार यादवबाट ऋणी राज कुमार महतो सुरुमा ७ लाख रुपैयाँको लेनदेन गरेको थियो । एउटै लेनदेनमा तीन तीन वटा कपाली तमसुक बनाएका यादवले आफ्नै मुद्दा मिलाउनको लागि पटक-पटक रुपैयाँ मागेर सहमति गरेको बताईन्छ ।
वकिल भनिएका साहु यादवले पीडित महतोलाई मुद्दा मिलाउने प्रलोभनमा पटक पटक रकम शोषण गर्दै गएपछि अति भएर पीडितले उनीमाथि कुटपिट गरेको बताईएको छ । मुद्दा मिलाउनको लागि पनि चाहिने अदालत खर्च समेत आफै ऋण दिएर पुनः ऋणी बनाउँदै गएपछि उनी छलफलको लागि जिल्ला प्रशासन कार्यालय सिरहामा गएका थिए । तर, त्यहाँ समेत यादवले धोँस देखाउन थालेपछि उनलाई कुटपिट गरिएको हो ।
ऋणी भनिएका महतो झन पीडित बन्दै गएपछि उनले सिडिओ गुहारेका थिए । सोही क्रममा सिडिओ अफिसमा छलफलको बेला समेत ऋणीलाई नटेर्ने, मुखबालाहरुको हालीमुहाली मात्रै देखेपछि आक्रोसित बनेका महतोले यादवलाई कुटपिट गर्न बाध्य भएको प्रतिक्रिया दिएका छन्।