जनकपुरधाम । मधेसमा सत्ता साझेदार दुई दल जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीबीच विवाद चर्किएको छ ।राजविराजमा रहेको मधेश कृषि विश्वविद्यालयको भवन उद्घाटन कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएर निम्त्याइएपछि जसपा-जनमत विवाद उत्कर्षमा पुगेको हो । यही विषयलाई लिएर नेताहरु आरोप-प्रत्यारोपमा उत्रिएका छन् ।
सोमबार हुने विश्वविद्यालयको भवन शिलान्याश कार्यक्रममा जसपाका अध्यक्ष यादवलाई प्रमुख अतिथि बनाउन नहुने भन्दै जनमतका नेता कार्यकर्ताले आइतबारदेखि नै विरोध जनाएका छन् ।
सडकमा टायर बालेर प्रदर्शन गरेका उनीहरुले विश्वविद्यालयमा तालाबन्दी गरेका छन् । जनमतका अध्यक्ष सिके राउतको क्षेत्रमा हुने कार्यक्रममा यादवलाई प्रमुख अतिथिकारुपमा निम्त्याइए भन्दै जनमतका नेता कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । यादवलाई प्रमुख अतिथि नस्वीकार्ने उनीहरुको अडान छ । कार्यक्रमका विषयमा मधेस सरकारका मुख्यमन्त्री र मन्त्रीहरुबीचमै समेत मतभेद छ ।
आइतबार जनमत पार्टीका तर्फबाट प्रदेश सरकारको शिक्षामन्त्री रहेका महेश यादवले विश्वविद्यालयको सहकुलपतिको हैसियतमा विश्वविद्यालयको कार्यक्रम नै स्थगित गर्न निर्देशन दिएका छन् । तर जसपाबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले भने कार्यक्रम यथोचित समयमै हुने बताएका छन् । सोमबारको कार्यक्रमका लागि राजविराजमा बाक्लो प्रहरी परिचालन गरिएको छ ।
उनले आफ्नो नेतृत्वको सरकारमा सामेल जनमत पार्टीका मन्त्रीहरु संस्कारहीन रहेको आरोप लगाए। केन्द्रीय सत्ता गठबन्धनमा भएका कारण जनमतका मन्त्रीहरुलाई सरकारबाट हटाउन नसकेको उनको भनाइ छ । 'जनमत पार्टी अराजकहरुको समूह हो, यो पार्टीका मन्त्री संस्कारहीन छन्,' आइतबार साँझ कान्तिपुरसँग कुरा गर्दे मुख्यमन्त्री यादवले भने ।
शिक्षामन्त्री यादवले आफूसँग परामर्श नगरी कार्यक्रम स्थगित गर्न निर्देशन दिएपछि आक्रोसित मुख्यमन्त्री यादवले जनमतका विषयमा यस्तो टिप्पणी गरेका हुन् । ‘जनमतका मन्त्रीलाई लाजसरम् हुदैन,' मुख्यमन्त्री यादवले भने, ‘सरकारमा पनि बस्ने, अनि सरकारको विरोध पनि गर्ने ?’
मुख्यमन्त्री यावदले मधेशमा जनमतको जन्म हुनु अगावै जसपाका अध्यक्ष यादवले कृषि विश्वविद्यालयको परिकल्पना गरेको भन्दै त्यहीकारण शिलान्याश कार्यक्रम यादवको प्रमुख आतिथ्यतामा गर्न लागिएको उनको दाबी छ । ‘मधेशकै गौरवको योजनाको रुपमा रहेको कृषि विश्वविद्यालय स्थापनामा अध्यक्ष यादवको अहम् भुमिका छ, त्यसैले उहाँबाट शिलान्यास गराउने तयारी गरिएको हो,' मुख्यमन्त्री यादवले भने ।
शिक्षामन्त्री यादवले स्थगित गर्न निर्देशन दिएपछि सोमबारको शिलान्यास कार्यक्रम पूर्वनिर्धारित कार्यतालिकाबमोजिम नै हुने मुख्यमन्त्री यादवले बताए ।
यता जनमतका अध्यक्ष सिके राउतले भने उपेन्द्र यादव गौर घटनाको मुख्य योजनाकार रहेको भन्दै उनलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत् राउतले भनेका छन्, 'गौर-नरसंहार गरेर दर्जनौंको निर्मम हत्या गरेका मान्छे सप्तरी मेरो क्षेत्रमा दंगा मच्चाउन, हत्याहिंसा गर्न किन आउनु पर्ने ? न उहाँको यहाँׅ घर छ, न उहाँ यहाँको जनप्रतिनिधि? अनि किन उपकुलपति र रजिष्टारलाई जबरजस्ती दबाब दिएर प्रमुख अतिथि बन्नुपर्ने?’
उनले आफूहरुले विश्वविद्यालयको भवन शिलान्याश गर्न नरोकेको भन्दै कानूनबमोजिम हुनुपर्ने माग गरेको बताएका छन् । यसबारे राउतसँग सम्पर्क गर्दा उनले सामाजिक सञ्जालमा सार्वजनिक धारणा नै आफ्नो आधिकारिक भनाइ रहेको बताए ।
केही दिनअघि प्रदेश सरकारको एक वर्षको प्रगति समीक्षा कार्यक्रममा समेत जसपा र जनमतबीच मतभेद भएको थियो । सार्वजनिक कार्यक्रममै जनमतका मन्त्रीको इशारामा कार्यकर्ताहरुले प्रदेश सरकार मुर्दावाद भन्दै नारा लगाएपछि मुख्यमन्त्री यादव जनमतप्रति चिढिएका थिए ।