सप्तरी । सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रममा प्रहरीले लाठीचार्ज गरेको छ।
सोमबार दिउँसो विश्वविद्यालय भवन शिलान्यास गर्ने क्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वागत गर्न बसेकाहरूमाथि प्रहरीले बल प्रयोग गरेको हो।
जनमत पार्टीका नेताहरू ‘सप्तरीका जनताको विरोधका बाबजुद गैरकानुनी, गैरवैधानिक कार्यक्रममा प्रमुख अतिथि बन्न सप्तरीका जनताको नरसंहार नै गर्न मरिहत्ते गर्नुभएका माननीय उपेन्द्र यादवज्यूलाई जनमत पार्टीका तर्फबाट हार्दिक स्वागत गर्दछौं’ लेखेको व्यानरसहित स्वागतमा बसेका थिए।
प्रहरीले लाठी चार्ज गर्ने क्रममा मधेश प्रदेशका शिक्षा मन्त्री महेशप्रसाद यादवको टाउकोमा चोट लागेको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेले प्रहरीले लाठीचार्ज गरेको बताए।
‘सामान्य लाठीचार्ज भएको छ। विश्वविद्यालयको शिलान्यास कार्यक्रममा विरोध गर्न अगाडि बढ्न खोज्दा प्रहरीले सामान्य बल प्रयोग गरेको हो,’ उनले भने, ‘सामान्य नै हो, टाउको फुटेको भन्ने होइन। लाठीचार्ज हुँदा लागेको हुन सक्छ।’
पछिल्लो समय जसपा र जनमत पार्टीबीच तिक्तता बढेको छ।
कृषि विश्वविद्यालयमा शिलान्यासका लागि अध्यक्ष यादव आउने भएपछि शिक्षा मन्त्री एवं विश्वविद्यालयका सहकुलपति रहेका महेशप्रसाद यादव पनि सहभागी थिए। शिक्षा मन्त्री यादव जनमत पार्टीका हुन्।
आफूहरू उपेन्द्रको स्वागत गर्न बसेको र त्यस क्रममा प्रहरीले लाठी चार्ज गरेको जनमत पार्टीका सचिव बिपी साहले बताए। अन्य प्रदेश सांसदहरू पनि घाइते भएको उनको भनाइ छ।
सांसदहरू भाग्यसिंह चौधरी, रञ्जुकुमारी मण्डल, सतिशकुमार सिंहरूमाथि पनि लाठीचार्ज भएको उनले जानकारी दिए। उनीहरूलाई चोट लागेको बताए पनि प्रहरीले भने कोही पनि घाइते भएको भन्ने जानकारी नआएको डिएसपी न्यौपानेले बताए।
शिलान्यास कार्यक्रम स्थगित गर्न जनमत पार्टीले गृह मन्त्रालयमा आग्रहसमेत गरेको थियो। जनमतका कार्यकर्ताहरूले आइतबार विश्वविद्यालयमा ताला लगाएका थिए।