काठमाडौं । नेकपा एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले केही विखण्डनकारी शक्तिले मधेस र पहाड बिच विभाजनको रेखा कोर्ने प्रयास गरेका बताउनुभएको छ ।
राष्ट्रिय युवा संघ नेपाल मधेस प्रदेशको बैठकलाई बाराको सिमरामा सोमबार सम्बोधन गर्दै बस्नेतले यस सन्दर्भमा नेकपा एमालेले सधैँ सन्तुलित बिचार राख्ने गरेको बताउनुभयो । ‘मधेसको सन्दर्भमा कतिपय भावनात्मक कुरा पनि उठे, कतिपय अतिवादी मुद्दाहरू पनि उठे, यी भावनात्मक र अतिवादी मुद्दा उठिरहँदा पनि नेकपा एमालेले सन्तुलित बिचार राखिरह्यो’, उहाँले भन्नुभयो ।
मधेस र पहाडको बिचमा द्वन्द्वको अवस्था सिर्जना गर्ने खालको चलखेल पनि भएको उहाँले बताउनुभयो । दुई राष्ट्रियताबाट नेपालको राष्ट्रियता कहिल्यै पनि बचाउन नसकिने बताउँदै बस्नेतले नेपालको राष्ट्रियता र राष्ट्रिय एकता सदैव एक भएको उहाँको भनाइ छ ।
सामाजिक सद्भाव नेपाली विशेषता भएको पनि उहाँले प्रष्ट पार्नुभयो । मधेस सबै प्रदेशको अभिभावक हुनु पर्नेमा उहाँले जोड दिनुभयो । ‘ राजधानी सबै प्रदेशको अभिभावक बन्नुपर्छ, मधेस पहाड र हिमालको अभिभावक बन्नु पर्छ’, उहाँले भन्नुभयो ।
नेकपा एमालेको गौरवपूर्ण इतिहास भएको बताउँदै बस्नेतले मधेसको विकासमा एमाले नेतृत्व सरकार हुँदा महत्पूर्ण योगदान गरेको उहाँले दाबी गर्नुभयो । पूर्व–पश्चिम लोकमार्ग होस् वा हुलाकी सडक निर्माणको काममा होस् केपी ओली नेतृत्वको सरकारले महत्त्वपूर्ण काम गरेको बस्नेतले बताउनुभयो । मधेसलाई केन्द्रित गरेर सघन सहरी विकास कार्यक्रम नेकपा एमालेले ल्याएको बस्नेतले प्रष्ट पार्नुभयो ।
एउटा सदरमुकाममा ८० करोड बढी बजेट हालेर ढला निकासको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । त्यस्तै मधेसमा सिँचाई गर्ने गरी मरिण डाइभर्सन आयोजना केपी ओलीकै पालामा भएको बस्नेतले प्रष्ट पार्नुभयो ।
मधेसमा अहिले पनि धेरै समस्या र विभेद कायम रहेकोले त्यसका विरुद्ध राष्ट्रिय युवा संघ नेपाल काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । जातीय, लैँगिक र सामाजिक विभेदका विरुद्ध राष्ट्रिय युवा संघ नेपालले मधेसमा काम गर्नुपर्ने बस्नेतले बताउनुभयो ।
सबैभन्दा धेरै भ्रष्टाचार र अनियमितता पनि मधेस प्रदेशमा नै भएको बस्नेतले बताउनुभयो । भ्रष्टाचारको छानबिन गरेर कारबाही गर्ने हो भने उपेन्द्र यादव र महन्थ ठाकुरका कार्यकर्ताले जेल भरिने अवस्था रहेको उहाँले दाबी गर्नुभयो ।
अहिले देशमा राज्यले नै तस्करी गरिरहेको पनि बस्नेतले बताउनुभयो । सारा कार्यकर्तालाई भ्रष्टिकरणमा हिँडाउने काम माओवादी र कांग्रेसले गरिरहेका उहाँले बताउनुभयो । नक्कली भुटानी शरणार्थी, बालुवाटारको जग्गा, सुन प्रकरण सबै अपराधमा सत्तारुढ दलका नेताहरू मुछिएका पनि बस्नेतले बताउनुभयो ।
गठबन्धन दलका नेताहरूको भण्डाफोर गर्दै पार्टीको बिचार सही रूपमा जनताको बिचमा लैजानु पर्नेमा उहाँले जोड दिनुभयो । त्यसो गर्न नसके मिसन २०८४ सफल नहुने बस्नेतले प्रष्ट पार्नुभयो ।