वीरगंज । बाराको फेटा गाउँपालिका त्रिवेणी टोलका हरिन्द्र महतोले आफ्नी १५ वर्षीया छोरी कौशिला कुमारी दलित युवासँग प्रेम सम्बन्धमा रहेको कुरा सार्वजनिक भएपछि इज्जत जाने डरले हत्या गरेको रहस्य खुलेको छ ।
महतोले गत साउन ११ मा मामाघर बस्दै आएकी छोरी कौशिलालाई पर्साको जगरनाथपुर गाउँपालिकाको सुपौलीमा रहेको खोला किनारमा हत्या गरेर शव फालेको प्रहरीले बताएको छ ।
कौशिलाको शव पर्सा प्रहरीले साउन १३ गते फेला पारेको थियो । शरीर र टाउको छुट्टा छुट्टै गरी ५० मिटरको दुरीमा फालिएको अवस्थामा कोशिलाको शव फेला परेको थियो । जसको पहिचान केही दिन अगाडि मात्रै भएको बारा प्रहरीले जनाएको छ ।
साउन १३ मा पर्सा प्रहरीले शव फेला पारे पनि त्यसको पहिचान भने हुन सकेको थिएन । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहका अनुसार शवको बारेमा कुनै जानकारी नपाएपछि घटना अनुसन्धानको क्रममा रहेको थियो । करिब साढे ५ महिनादेखि महतोको छोरी कौशिला बेपत्ता रहेकोबारे स्थानीयले प्रहरीलाई खबर गरेपछि अनुसन्धान गर्ने क्रममा महतोले नै छोरीको हत्या गरेको स्वीकार गरेका छन् ।
कौशिलाको शव पहिचान भएपछि बुबा महतोलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
सुरुमा छोरीलाई बेपत्ता बनाइएको बारेमा सोधपुछ गर्दा हरिन्द्रले छोरी हराएको जवाफ दिएर घटनालाई लुकाउन खोजेको भए पनि अन्ततः उनले छोरीको गाउँकै स्थानीय दलित समुदायका कृष्ण वैठासँग प्रेम सम्बन्ध रहेको र गाउँमा बदनामी हुने डरले निजलाई मामाघर पुर्याउने बहानामा बिच बाटोमै लगेर हत्या गरेको स्वीकार गरेका छन् ।
मृतक कौशिला स्थानीय गङ्गा साह माध्यमिक विद्यालयको कक्षा ८ मा पढ्दै गरेको र कृष्ण बैठासँग प्रेम सम्बन्ध रहेको हल्ला गाउँमा चलेपछि बदनामी हुने डरले छोरीलाई मामाघर पुर्याउने बहानामा गाडीमा राखेर पर्साको जगरनाथपुर लैजाने क्रममा बिच बाटोमै हत्या गरी खोला किनारमा टाउको र शरीर अलग गराई शव फालेको स्वीकार गरेका छन् ।
बारा प्रहरीले प्रारम्भिक अनुसन्धान गरेर घटना पर्सामा भएकोले थप कारबाहीका लागि पक्राउ परेका महतोलाई पर्सा प्रहरीको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।